वीरगन्ज,०७ पुस । तराई–मधेस क्षेत्रमा चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा तीन दिनका लागि जाडो बिदा दिएको छ। चिसो मौसमलाई मध्यनजर गर्दै महानगरपालिकाले आज (सोमबार)देखि लागू हुने गरी बिदा दिने निर्णय गरेको हो।
महानगरपालिकाका अनुसार वर्षे सट्टे बिदाबाट कट्टा हुने गरी पुस ७ गतेदेखि पुस ९ गतेसम्म वीरगन्ज महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहनेछन्। साथै ११ पुसमा शैक्षिक क्यालेन्डरमै विदा लेखिएकोले १३ पुसदेखि विद्यालयहरू सञ्चालनमा आउने भनिएको छ ।
पछिल्लो एक साता यता तराई–मधेसमा चिसो ह्वात्तै बढेको छ। बिहान र साँझ बाक्लो हुस्सु लाग्नुका साथै चिसो हावा चल्न थालेपछि जनजीवन प्रभावित भएको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दैनिक ज्यालादारी मजदुरीमा निर्भर व्यक्तिहरूलाई चिसोले बढी असर पुर्याएको छ।
चिसो अझै केही दिन कायम रहने अनुमान गरिएकाले आवश्यक सावधानी अपनाउन स्थानीय निकाय र स्वास्थ्यकर्मीहरूले सर्वसाधारणलाई आग्रह गरेका छन्।



