काठमाडाैं,२३ माघ । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सर तथा अन्य रोगको समयमा पहिचान गर्न ‘हिस्टोप्याथोलोजी’ सेवा सञ्चालनमा आएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंबाट आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनपछि सेवा सुरु गरिएको हो।
डा. सुवेदीले भने, “लामो समयको प्रयासपछि सेवा सुरु भएको छ, जसले यस क्षेत्रका बिरामीलाई ठूलो राहत मिल्नेछ। अब रोगको नमुना बाहिर पठाएर लामो समय प्रतिक्षा गर्नु पर्ने आवश्यक छैन।” हाल चारवटा उपकरण र दुई जना प्याथोलोजी चिकित्सकले सेवा प्रदान गरिरहेका छन्। केही दिनको छोटो अवधिमा तीन व्यक्ति यस सेवाबाट लाभान्वित भएका छन्।
भेरी अस्पतालका प्याथोलोजी विभाग प्रमुख डा. शर्मिला गुप्ताले हिस्टोप्याथोलोजी सेवाले क्यान्सर, क्षयरोग, अटो–इम्युन, मिर्गौला, पेट, कलेजो लगायत दीर्घरोगको पहिचानमा सहयोग पुग्ने बताइन। उनले यस सेवाले शरीरबाट निकालिएका अङ्ग—जस्तै एपेन्डिक्स, पित्तथैली, प्रोस्टेट—आदि रोगग्रस्त छन् कि छैनन् भन्ने पत्ता लगाउन मद्दत गर्ने जानकारी दिइन्।
डा. गुप्ताले विश्वास व्यक्त गर्दै भनिन्, “यस सेवाले क्यान्सर जस्ता गम्भीर रोगको प्रकार, अवस्था र रोग कति फैलिएको छ भन्ने जानकारी पाउन सहज बनाउनेछ र उचित उपचारमा ठूलो सहयोग पुग्नेछ।”

