काठमाडौँ,०२ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा लगातार बढिरहेको मूल्य र आपूर्ति व्यवस्थापनमा परेको दबाबलाई मुख्य कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य समायोजन गरेको जनाएको छ।
निगमका अनुसार नयाँ मूल्यसूची आजैदेखि लागू गरिएको छ। समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर ३१ रुपैयाँले बढेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५४ रुपैयाँले वृद्धि गरिएको छ। त्यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २१६ रुपैयाँले बढाइएको छ।
नयाँ समायोजनपछि अब पेट्रोल प्रतिलिटर १८८ रुपैयाँ, डिजेल १९६ रुपैयाँ तथा एलपी ग्यास प्रति सिलिन्डर २ हजार १२६ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारबाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा मूल्य समायोजन गर्न बाध्य भएको निगमले जनाएको छ।
मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तु र यातायात भाडामा समेत प्रभाव पार्ने सम्भावना रहेको छ।




