काठमाडौं,२७ माघ । गुठी संस्थानले यस वर्षको महाशिवरात्रि पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । संस्थानले मंगलबार पत्रकार सम्मेलन गर्दै फागुन १ गतेदेखि ५ गतेसम्म महाशिवरात्रि पर्व व्यवस्थित रूपमा सञ्चालन गरिने जानकारी दिएको हो ।
यस वर्ष महाशिवरात्रि पर्व फागुन ३ गते मनाइँदैछ । पर्वअघि र पर्वपछिसम्म गर्नुपर्ने सबै तयारी सम्पन्न भइसकेको गुठी संस्थानका प्रवक्ता जनक पोखरेलले बताए ।
उनका अनुसार महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्र तथा काठमाडौंका विभिन्न अखडाहरूमा आउने साधुसन्तहरूको सेवा, पूजा तथा व्यवस्थापनका लागि आवश्यक प्रबन्ध मिलाइएको छ । पर्व अवधिभर साधुसन्तका लागि दाउरा, भोजन, पूजा सामग्री तथा दक्षिणाको व्यवस्था गरिनेछ ।
प्रवक्ता पोखरेलका अनुसार फागुन १ गते गुठी संस्थान शाखा कार्यालय पशुपतिका कर्मचारीहरू राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपतिबाट पशुपतिनाथ मन्दिरमा अर्पण गरिने तथा साधुसन्तलाई प्रदान गरिने सामग्रीहरूको परम्परागत विधिअनुसार संकल्प गर्ने कार्यक्रम रहेको छ ।
संकल्प सामग्रीमा राडी, च्यादर, बख्खु, कमण्डलु, रुद्राक्ष माला, धान, दाल, घिउ, फलफूल लगायत २१ प्रकारका सामग्री समावेश गरिएको छ । सोही दिन पशुपति मन्दिर परिसरमा साधुसन्तका लागि भोजन तथा दाउराको व्यवस्था गरिनेछ ।
फागुन २ गते अन्नपूर्ण आश्रममार्फत मन्दिर परिसरमा रहेका साधुसन्तका लागि भोजनको व्यवस्था गरिनेछ भने राम मन्दिर, भष्मेश्वर, निर्मल, मृगस्थली गोरखनाथ, वनकाली र थापाथली क्षेत्रका अखडाहरूमा दाउरा र भोजन उपलब्ध गराइनेछ ।
मुख्य दिन फागुन ३ गते गुठी संस्थान शाखा कार्यालय पशुपतिबाट पञ्चामृतसहितका पूजा सामग्री पशुपतिनाथ मन्दिरमा अर्पण गरिनेछ । सोही दिन साँझ मन्दिर परिसरमा दीप प्रज्वलन गरिने र साधुसन्तका लागि दही, फलफूल तथा धुनी बाल्न दाउरा वितरण गरिने प्रवक्ता पोखरेलले जानकारी दिए ।
फागुन ४ गते पनि साधुसन्तका लागि भोजन र दाउराको व्यवस्था निरन्तर रहनेछ भने फागुन ५ गते बिहान भोजन गराएपछि दक्षताका आधारमा विभिन्न रङका कार्ड वितरण गरी सोही आधारमा तोकिएको दरअनुसार दक्षिणा प्रदान गरेर साधुसन्तलाई बिदाइ गरिनेछ ।
गुठी संस्थानले यस वर्ष महाशिवरात्रि पर्वका लागि दाउरा खरिदमा ८ लाख रुपैयाँ र पर्व सञ्चालन खर्चमा ३२ लाख रुपैयाँ गरी कुल ४० लाख रुपैयाँ बजेट छुट्याएको जनाएको छ ।
गत वर्ष महाशिवरात्रि पर्वमा २ हजार ३८९ जना साधुसन्तलाई वर्गीकरण गरी दक्षिणासहित बिदाइ गरिएको थियो । दक्षिणा वितरणमा मात्र २० लाख ५८ हजार ६ सय ७१ रुपैयाँ खर्च भएको र करिब ५० हजार केजी दाउरा व्यवस्थापन गरिएको गुठी संस्थानले जनाएको छ ।



