जनकपुर,२७ माघ । मधेशका सम्मानित नेता स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा गाडीबाटै माला फ्याँकेर अघि बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह विवादमा परेका छन् ।
मंगलबार सप्तरी सदरमुकाम राजविराज पुगेका साह सनरुफसहितको गाडीबाटै हात हल्लाउँदै गजेन्द्र चोकस्थित गजेन्द्रनारायण सिंहको शालिकतर्फ माला फ्याँकेर अघि बढेका थिए । उक्त दृश्यपछि सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा आलोचना सुरू भएको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तराई–मधेश क्षेत्रमा दोस्रो चरणको चुनावी कार्यक्रमका लागि राजविराज पुगेका साहलाई स्वागत गर्न मंगलबार बिहानैदेखि सयौँ सर्वसाधारण तथा रास्वपा कार्यकर्ता सडकमा भेला भएका थिए । गजेन्द्र चोक पुगेपछि उनले शालिकमा ओर्लिएर माल्यार्पण गर्ने अपेक्षा गरिएको थियो ।
तर साह गाडीबाट नझरी दक्षिण भारतीय चलचित्रका नायक झैँ हात हल्लाउँदै अघि बढे । गजेन्द्रनारायण सिंह (गजेन्द्र बाबु) को शालिकमा विधिपूर्वक माल्यार्पणका लागि माला उपलब्ध गराइएको भए पनि उनले सनरुफबाटै शालिकतर्फ माला फ्याँकेर कार्यक्रमस्थल छाडेका थिए ।
उनले शालिकस्थल वा पार्टी कार्यालयमा समेत औपचारिक रूपमा ओर्लिएनन् । यसरी श्रद्धाञ्जली व्यक्त गर्ने शैलीलाई लिएर समर्थक तथा स्थानीयमा असन्तुष्टि र निराशा देखिएको छ ।
यसैबीच नागरिक उन्मुक्ति पार्टी नेपालका नेता जीवछ यादवले साहको गतिविधिप्रति कडा आपत्ति जनाएका छन् । उनले मधेशको माटो, संवेदना र आदर्शप्रति अपमानजनक व्यवहार भएको टिप्पणी गरेका छन् ।
‘मधेशका आदर्श र भावनामाथि पटक–पटक आघात हुनु अब सामान्य भूल होइन, यो सोचेर गरिएको व्यवहारजस्तो देखिन थालेको छ,’ यादवले भनेका छन्, ‘गजेन्द्रनारायण सिंहजस्तो व्यक्तित्वको शालिकमा गाडीबाटै माला फ्याँक्नु सम्मान हो कि अपमान?’
उनले शालिकमा माल्यार्पण गर्नु श्रद्धा र सम्मानको प्रतीक भएको उल्लेख गर्दै यसलाई ‘निशाना लगाउने अभ्यास’ जस्तो बनाइनु दुःखद भएको प्रतिक्रिया दिएका छन् ।



