काठमाडौं,२७ माघ । २२ वटा कम्युनिष्ट र समाजवादी घटकको एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
‘तारा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएको पार्टीले ‘सुशासन र रोजगारी समाजवादको तयारी’ तथा ‘राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नारासहित स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र प्रस्तुत गरेको छ।
मुख्य प्रतिबद्धताहरू:
आर्थिक वृद्धि र रोजगारी: आगामी ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने, प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने र १ लाख युवा उद्यमी बनाउने योजना। बहुआयामिक गरिबीलाई २०.१५ प्रतिशतबाट ५ प्रतिशतमा झार्ने लक्ष्य।
भ्रष्टाचार नियन्त्रण र सुशासन: सार्वजनिक पदधारीको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण, अख्तियार र शतर्कता केन्द्रलाई एकीकृत गरी शक्तिशाली ‘लोकपाल’ स्थापना, र डिजिटल प्रशासनमार्फत सरकारी सेवालाई ‘फेसलेस र पेपरलेस’ बनाउने प्रतिवद्धता।
कृषि र भूमि सुधार: ‘कृषि लगानी दशक’ घोषणा, प्रमुख खाद्यान्नमा आत्मनिर्भरता, किसान पेन्सन, समर्थन मूल्यको अग्रिम घोषणा, कृषि बीमा, भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण।
स्वास्थ्य, शिक्षा र खेलकुद: २०८८ सम्म शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमा, निस्शुल्क स्वास्थ्य सेवा, ‘एक पालिका, एक स्मार्ट विद्यालय’, राजनीतिक हस्तक्षेपविहीन विश्वविद्यालय, खेलाडी पुरस्कार दोब्बर, ५० हजार क्षमता भएको स्मारक राष्ट्रिय रंगशाला निर्माण।
पूर्वाधार, ऊर्जा र पर्यटन: ५ वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन, प्रतिव्यक्ति खपत ७५० किलोवाट घण्टा, पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार, काठमाडौंमा मेट्रो रेल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, ‘स्मार्ट टुरिज्म’ र इको–टुरिज्म प्रवर्द्धन।
सामाजिक न्याय र समावेशिता: दलित, महिला, आदिवासी, मुस्लिम र सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित, जातीय छुवाछुत विरुद्ध अभियान, सामाजिक सुरक्षा प्रणाली सुधार।
परराष्ट्र नीति र सीमा सुरक्षा: असंलग्नता सुदृढ पार्ने, कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवाद कूटनीतिक रूपमा समाधान गर्ने।
पार्टीले राजनीतिक स्थिरता, शासकीय सुधार, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र राष्ट्रिय हितलाई प्राथमिकता दिने प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ।



