“उद्योग, कृषि र पूर्वाधारमा क्रान्ति ल्याएर पर्सा–३ लाई समृद्ध बनाउँछु” : रुपेशकुमार पाण्डेय

spot_img

बीरगन्ज,१७ फागुन । नेकपा एमालेका उम्मेदवार रुपेशकुमार पाण्डेयले प्रतिनिधि सभा निर्वाचनमा आफ्नो चुनावी एजेन्डा सार्वजनिक गर्दै पर्सा क्षेत्र नं. ३ का सबै समस्या सम्बोधन गर्ने दाबी गरेका छन्। उनले रोजगारी, उद्योग, कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन्।

उद्योग र रोजगारीको क्षेत्रमा स्वदेशमै रोजगारी सिर्जना गर्ने, साना तथा मझौला उद्योगलाई सहुलियत ऋण उपलब्ध गराउने, स्टार्टअप र सूचना प्रविधि क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने योजना पाण्डेयले प्रस्तुत गरेका छन्। उनले भने, “युवालाई विदेशिन बाध्य हुने अवस्था अन्त्य गर्न स्थानीयस्तरमै अवसर सिर्जना गर्नुपर्छ।”

कृषि र पशुपालनतर्फ कृषिको आधुनिकीकरण र मेकानाइजेसन, मल र उन्नत बीउमा अनुदान, साथै युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिने योजना रहेको उनले बताए। यसबाट उत्पादन वृद्धि र किसानको आम्दानी बढाउने विश्वास पाण्डेयले व्यक्त गरे।

स्वास्थ्य क्षेत्रमा जिल्ला अस्पताल सुदृढीकरण, निःशुल्क आधारभूत स्वास्थ्य सेवा विस्तार र स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउने योजना रहेको उनले जानकारी दिए। शिक्षा क्षेत्रमा सार्वजनिक विद्यालय सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड र डिजिटल शिक्षाको विस्तारलाई प्राथमिकता दिइएको छ।

पूर्वाधार विकासतर्फ सडक र पुल निर्माणमा तीव्रता, जलविद्युत् आयोजना अघि बढाउने, सिँचाइ र खानेपानी परियोजना विस्तार गर्ने योजना पनि उनले प्रस्तुत गरेका छन्। साथै वृद्धभत्ता र अन्य सामाजिक सुरक्षा भत्ता निरन्तरता, गरिबी निवारण कार्यक्रमलाई थप सशक्त बनाउने प्रतिबद्धता पाण्डेयले व्यक्त गरे।

उनी मतदातालाई विकास, सुशासन र समृद्धिका लागि आफूलाई समर्थन गर्न आग्रह गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय