प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन : अध्यक्ष ओली

spot_img

काठमाडौं,१० माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ मा भएको घटनालाई लिएर आफूमाथि लगाइएका आरोपहरू निराधार र भ्रममा आधारित रहेको बताएका छन् । झापा निर्वाचन क्षेत्र नम्बर–५ मा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले उक्त घटनाको जिम्मेवारी प्रधानमन्त्रीमाथि थोपर्नु गलत भएको स्पष्ट पारे ।

ओलीले घटनामा युवाहरूको मृत्यु भएको भन्दै त्यसको दोष आफूलाई लगाइएकोप्रति आपत्ति जनाए । “प्रधानमन्त्री बन्दुक समातेर गोली चलाउन जाने व्यक्ति हुँदैन,” उनले भने, “सेना, प्रहरी र सशस्त्र प्रहरीको आ–आफ्नै दायित्व र जिम्मेवारी हुन्छ ।”

सुरक्षा व्यवस्थापन प्रशासनको जिम्मामा पर्ने विषय भएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले गोली चलाउने आदेश दिने वा नदिने भूमिका नरहेको जिकिर गरे । घटनापछि फैलाइएको प्रचारलाई ‘आयातित भ्रम’को संज्ञा दिँदै ओलीले बाहिरबाट सिर्जना गरिएको गलत सूचनाले जनतालाई उक्साएर तोडफोड, आगजनी र लुटपाट गराइएको दाबी गरे ।

“यो यहाँका स्थानीयले बनाएको कुरा होइन, बाहिरबाट ल्याइएको भ्रम हो,” उनले भने, “त्यही भ्रमका कारण मान्छेहरू उकासिए, कुदाइए र हिंसात्मक गतिविधि भए ।” यस्तो भ्रम फैलाउनेहरू नै अहिले ठूलो स्वरमा बोलिरहेको उनको आरोप थियो ।

अध्यक्ष ओलीले एमालेमाथि विरोध नयाँ नभएको भन्दै दुई तिहाइ बहुमतसहित सरकार गठन गर्दा र विकास निर्माणका काम अघि बढाउँदा पनि तीव्र विरोध खेप्नुपरेको स्मरण गराए । “हामी देश बनाउने अभियानमा लागेकै कारण विरोध भएको हो,” उनले भने, “एमाले देश बनाउने र जोगाउने अभियानमा छ ।”

उनले आफू सरकारबाट बाहिरिएपछि झापा क्षेत्रमा विनियोजन भएका बजेट रोकिएको दाबी पनि गरे । “म सरकारबाट हट्नेबित्तिकै यहाँका बजेट रोकिए,” उनले भने, “आज प्रतिस्पर्धा गर्नेहरू नै बजेट रोक्नेहरू हुन् ।” झापा क्षेत्रमा उल्लेखनीय विकास भएको उल्लेख गर्दै ‘यहाँ केही भएन’ भन्न नमिल्ने उनको भनाइ थियो । ओलीले एमाले विकासका कुरा मात्र गर्ने नभई काम गरेर देखाउने पार्टी भएको दाबी गर्दै बाँकी रहेका विकासका काम पूरा गर्न र नयाँ परियोजना अघि बढाउन पुनः जनमतको आवश्यक रहेको बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय