पर्सा–१ मा रास्वपाको सक्रियता बढ्दो, श्रीपुरदेखि नगवासम्म हरि पन्तको घरदैलो अभियान

spot_img

वीरगञ्ज,१७ फागुन – पर्सा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घरदैलो अभियानलाई तीव्रता दिएको छ। वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा निर्वाचन परिचालन समिति अध्यक्ष त्रिनेत्र गिरिको अध्यक्षतामा आयोजित कार्यक्रमसँगै उम्मेदवार हरि पन्तले मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार पन्तले घर–घर पुगेर स्थानीयका समस्या, सुझाव र अपेक्षा सुने। उनले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा सुशासनलाई आफ्नो प्राथमिकतामा राख्दै पारदर्शी र उत्तरदायी नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे। “राजनीति अवसरका लागि होइन, परिवर्तनका लागि हुनुपर्छ,” भन्ने सन्देश उनले दोहोर्‍याए।

यसैगरी वीरगञ्ज महानगरपालिका–१६ अन्तर्गत नगवा, इनर्वा र फुलवारी टोलमा पनि घरदैलो कार्यक्रम सम्पन्न भएको छ। वडा नं. १६ का बासिन्दा चन्दन पण्डितको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीयको सहभागिता रहेको बताइएको छ। कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मले उम्मेदवारसँग प्रत्यक्ष संवाद गरेका थिए।

घरदैलोका क्रममा स्थानीयले खानेपानी, सडक स्तरोन्नति, नाला व्यवस्थापन, सरसफाइ, युवाका लागि रोजगारी र सुशासनका विषयमा चासो राखेका थिए। पन्तले उठाइएका विषयलाई आफ्नो कार्ययोजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरे।

चुनावी प्रचारप्रसार तीव्र बन्दै जाँदा पर्सा–१ मा विभिन्न दलका उम्मेदवारहरूले घरदैलो तथा भेटघाट कार्यक्रममार्फत मतदातासँग सम्पर्क बढाइरहेका छन्। रास्वपाको पछिल्लो सक्रियताले क्षेत्रको चुनावी माहोललाई थप गतिशील बनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय