रौतहट,१७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रौतहट जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मनोज केसीले कटहरियास्थित नमुना माध्यमिक विद्यालयमा रहने मतदान केन्द्र तथा मतगणना स्थलको निरीक्षणपछि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।
जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित ढंगले सम्पन्न गराउन १० हजारभन्दा बढी सुरक्षाकर्मी तथा जनशक्ति परिचालन गरिएको छ। उनले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन्।
निर्वाचनको सुरक्षा व्यवस्थापन सुदृढ बनाउन नेपाली सेनाअन्तर्गत श्री नारायणदल गणले अत्याधुनिक सवारी साधनसहित गस्ती तथा निगरानी तीव्र पारेको जनाएको छ। पैदल, मोटरसाइकल, सवारी साधन तथा बख्तरबन्द गाडीमार्फत जिल्लाभर गस्ती परिचालन भइसकेको छ।
जिल्लाका १८ वटै स्थानीय तहमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाबीच समन्वयमा संयुक्त गस्ती सञ्चालन भइरहेको छ। मतदान केन्द्र आसपास विशेष निगरानी बढाइएकाले कुनै पनि अवाञ्छित गतिविधि हुन नदिने सुरक्षा निकायको भनाइ छ।
निरीक्षण टोलीमा सुरक्षा निकायका प्रमुखहरू, निर्वाचन अधिकारी तथा सम्बन्धित क्षेत्रका पदाधिकारीहरूको सहभागिता रहेको थियो। निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लाभर सुरक्षा सतर्कता उच्च पारिएको जनाइएको छ।

