मोरङ–२ मा कांग्रेसको प्रचार गाडीबाट ४ लाख ४९ हजार बरामद

spot_img

मोरङ,१७ फागुन । प्रतिनिधिसभा निर्वाचनको मुखमा मोरङ–२ मा नेपाली कांग्रेसको प्रचारमा प्रयोग भइरहेको सवारी साधनबाट नगद ४ लाख ४९ हजार रुपैयाँ बरामद भएपछि प्रहरीले गाडी र रकम नियन्त्रणमा लिएर थप छानबिनका लागि निर्वाचन कार्यालयमा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवलका अनुसार रतुवामाइ नगरपालिका क्षेत्रमा गस्तीका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले शंकास्पद गतिविधि भएको भन्दै उक्त गाडी रोकेर प्रहरीलाई खबर गरेका थिए। त्यसपछि पुगेको प्रहरी टोलीले जाँच गर्दा गाडीमा कांग्रेसका प्रचार सामग्रीसहित उक्त रकम फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार गाडीमा सवार व्यक्तिले आफू व्यवसायी भएको र बरामद रकम व्यक्तिगत भएको दाबी गरेका थिए। प्रारम्भिक सोधपुछपछि तीन जनालाई रिहा गरिएको छ भने गाडी र रकमलाई थप अनुसन्धानका लागि मोरङ–२ को निर्वाचन कार्यालयमा बुझाइएको छ।

मोरङ–२ का निर्वाचन अधिकृत रूद्र आचार्यले घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिए।

मोरङ–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेसका मिनेन्द्र रिजाल, नेकपा (एमाले) का दिलीपकुमार अग्रवाल, नेकपाका चन्द्रवीर राई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण कुमार कार्की उम्मेदवार छन्।

घटनाले निर्वाचन आचारसंहिता उल्लंघनको विषय उठाएको छ भने यसबारे सम्बन्धित निकायबाट विस्तृत छानबिन भइरहेको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय