बीरगन्ज,१७ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत बिन्दवासिनी गाउँपालिकामा नेकपा एमालेको घरदैलो तथा जनता दर्शन कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार रूपेश कुमार पाण्डेप्रति स्थानीय बासिन्दाले उल्लेखनीय समर्थन व्यक्त गरेका छन्।
पाण्डे प्रसौनी, अमरपट्टी र मधवललगायत टोलमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको आर्थिक, सामाजिक र पूर्वाधार विकास प्राथमिकतामा राखेर काम गर्ने योजना प्रस्तुत गरे। कार्यक्रममा युवा समूह, महिला र ज्येष्ठ नागरिकहरूले पाण्डेको नेतृत्व क्षमताको प्रशंसा गर्दै क्षेत्रलाई नयाँ दिशा दिन सक्षम नेतृत्व आवश्यक भएको धारणा व्यक्त गरेका थिए।
उनले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्थानीय उद्योग–व्यवसाय प्रवर्द्धनलाई आफ्नो प्रमुख एजेन्डा बनाएको जनाइएको छ।
पर्सा–३ मा पुस्तान्तरणको बहस चुलिँदै गएको छ। लामो समयदेखि परम्परागत नेतृत्वको प्रभाव रहेको क्षेत्रमा युवा उम्मेदवार पाण्डेको निरन्तर जनसम्पर्क र सक्रियताले चुनावी माहोललाई नयाँ मोड दिएको छ। स्थानीय बासिन्दाले विकासप्रति प्रतिबद्ध, पहुँचयोग्य र जिम्मेवार नेतृत्वको आवश्यकता औँल्याउँदै पाण्डेलाई विजयको शुभकामना दिएका छन्।
विश्लेषकहरूले युवा उम्मेदवार पाण्डेको बढ्दो जनसमर्थनले पर्सा–३ मा राजनीतिक परिवर्तनको सम्भावना बलियो बनाएको टिप्पणी गरेका छन्।

