काठमाडौं,२३ फागुन । शेखर कोइराला मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ मा पराजित भएका छन्। नेपाली कांग्रेसका नेता कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुबिना आचार्यले पराजित गर्दै विजय हासिल गरेकी हुन्।
पराजयपछि कोइरालाले विजयी आचार्यलाई बधाई दिँदै लोकतान्त्रिक प्रक्रियामा जित–हार स्वाभाविक भएको बताएका छन्। उनले लोकतान्त्रिक निर्वाचनले राजनीतिक संस्कार र संस्कृतिको विकास गर्ने उल्लेख गर्दै परिणामलाई सम्मान गर्ने बताएका हुन्।
कोइरालाले नयाँ पुस्ताका सक्षम र योग्य युवाहरू संसदमा पुग्नु सकारात्मक पक्ष भएको पनि बताएका छन्। उनका अनुसार युवाहरू नै देशको परिवर्तनका वाहक भएकाले भावी संसदमा उनीहरूले नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
मोरङ–६ लोकतान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको क्षेत्र भएको उल्लेख गर्दै उनले अत्यधिक मतका साथ विजयी भएकी रुबिना आचार्यलाई बधाई दिएका छन्। साथै उनले आफ्नो कार्यकालमा क्षेत्रको विकास, सेवा र समृद्धिका काममा आवश्यक सहयोग र समर्थन रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
निर्वाचनका क्रममा आफूलाई मत दिई विश्वास गर्ने मोरङ–६ का सबै मतदाताप्रति उनले आभार व्यक्त गरेका छन्। साथै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने प्रशासन र सुरक्षा निकायलाई पनि धन्यवाद दिएका छन्।
कोइरालाले आफू पराजित भए पनि मोरङ–६ सँगको सम्बन्ध र जनताप्रतिको प्रतिबद्धता यथावत रहने विश्वास दिलाएका छन्।

