छोराको न्याय खोज्दै सडकबाट सदन पुगेकी आमा

spot_img

काठमाडौं,०२ चैत । गत भदौ २३ गते काभ्रेका २३ वर्षीय रसिक खतिवडा जेन–जी आन्दोलनमा सहिद भएका थिए। उनका माता रचना खतिवडा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सांसदको सूचीमा परेकी छन्।

रसिकको मृत्युपछि रचना सडकबाट सदनसम्मको यात्रामा छिन्। उनले छोराको न्यायका लागि सिंहदरबार, बालुवाटार र बानेश्वरका गेटहरूमा धर्ना बसेकी थिइन् र न्याय माग्दै सडकमा निस्किएकी थिइन्। “म संसद्‌मा पनि उनीहरूविरुद्ध आवाज उठाउनेछु। मेरो अन्तिम श्वाससम्म छोरालाई न्याय दिलाउने छु,” उनी भावविह्वल हुँदै भन्छिन्।

रसिकले न्याय र सुशासनको माग राख्दै आन्दोलनमा भाग लिएका थिए। तर राज्यको गोली प्रहारमा उनीको जीवन अन्त भयो। रचना भन्छिन्, “म जहाँ गए पनि मेरो कलिलो छोरा फर्केर आउँदैन। त्यसैले अझै खुसीको अनुभूति छैन।”

भदौ २३ अघि रचना सामान्य गृहिणी थिइन्। उनी र उनका पति पुरुषोत्तम खतिवडाले किराना पसल गरेर छोराछोरी हुर्काएका थिए। रसिक अस्ट्रेलिया जाने तयारीमा थिए, तर आन्दोलनका कारण उनी फर्किएनन्।

रास्वपा सभापति रवि लामिछानेले पनि रचनाको कथा सुनेर पीडामा सहभागी भएका थिए। पार्टीसँगको निरन्तर सम्पर्क र कागजात पेश गरेपछि रचनाको नाम समानुपातिक सांसदको सूचीमा पर्न सफल भयो।

सांसद बनेपछि रचना केवल आफ्नै छोराको न्यायका लागि मात्र नभई अन्य सहिद र घाइते परिवारका मुद्दाहरू उठाउने योजना बनाइरहेकी छिन्। उनी भन्छिन्, “शरीरमा अझै गोली बोकेर हिँडेका भाइबहिनी छन्। मजस्तै सहिद परिवारका आँसु पनि छन्। यसका लागि सदनमा मेरो आवाज सुनिनुपर्छ।”

अब रचना सडकमा उठेका आवाजलाई संसद्मा लैजाने अवसर पाएकी छिन्। उनका लागि यो केवल व्यक्तिगत पीडा मात्र होइन, सम्पूर्ण सहिद परिवार र घाइतेहरूको न्यायको अभियान पनि बनेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय