समानुपातिक सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गरिने

spot_img

काठमाडौँ,०३ चैत । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई यही चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार सोही दिन बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गरिने कार्यक्रम तय गरिएको छ।

राजनीतिक दलहरूले छनोट गरेर आयोगमा पेस गरेका उम्मेदवारहरूको विवरण सार्वजनिक गर्दै आयोगले उनीहरूलाई निर्वाचित भएको घोषणा गरिसकेको छ। आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र र दुई प्रति पासपोर्ट साइजको फोटोसहितको विवरण मंगलबारसम्म उपलब्ध गराउन आग्रह गरेको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा छ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २० सिट, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ९ सिट, श्रम संस्कृति पार्टीले ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन्।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ। समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण भएसँगै यसपटकको प्रतिनिधिसभा निर्वाचन प्रक्रिया औपचारिक रूपमा सम्पन्न हुने आयोगले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय