काठमाडौँ,०३ चैत । नेपाल ट्रक यातायात व्यवसायी महासंघले हालै गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति आपत्ति जनाएको छ। खाडी क्षेत्रमा देखिएको युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकोप्रति महासंघले असन्तुष्टि व्यक्त गरेको हो।
महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँद्वारा जारी विज्ञप्तिमा मूल्यवृद्धिले यातायात क्षेत्र मात्र नभई समग्र जनजीवनमा नकारात्मक प्रभाव पर्ने उल्लेख गरिएको छ। निगमले चैत १ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थको मूल्य अस्वाभाविक रूपमा बढाएको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
निगमका अनुसार अमेरिका, इजरायल र इरानबीचको तनाव तथा युद्धका कारण खाडी क्षेत्रबाट हुने पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति प्रभावित भएको छ। त्यसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा पनि यसको असर परेको निगमले जनाएको छ।
महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम नागरिकमा असन्तुष्टि बढाएको र यसको प्रत्यक्ष असर यातायात व्यवसायमा पर्ने बताएको छ। वैज्ञानिक प्रणालीका आधारमा निर्धारण गरिएको भाडादरअनुसार ट्रक सञ्चालन गर्ने र पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर पाँच रुपैयाँ तलमाथि हुँदा भाडादर समायोजन गर्ने विषयमा यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी महासंघबीच लिखित सहमति भइसकेको महासंघले स्मरण गराएको छ।
डिजेलको मूल्य बढेसँगै सोही वैज्ञानिक प्रणालीअनुसार ट्रक भाडादर स्वचालित रूपमा समायोजन गर्न सरकारका सम्बन्धित निकायसँग महासंघले माग गरेको छ। अहिले भाडादर प्रभावकारी रूपमा कार्यान्वयन नभइरहेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्य बढाउँदा पुरानै भाडादरमा ट्रक सञ्चालन गर्न व्यवसायीलाई कठिन हुने महासंघको भनाइ छ।
महासंघले २०६५ सालदेखि पेट्रोलियम पदार्थको मूल्य घटबढ अनुसार सवारीसाधनको भाडा समायोजन गर्ने वैज्ञानिक नीति लागू भए पनि यसको प्रभावकारी कार्यान्वयन नभएको जनाएको छ। साथै २०८१ साल पुस २२ यता भाडादरको पुनरावलोकनसमेत नभएकोप्रति असन्तुष्टि जनाउँदै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।
यसैबीच नेपाल आयल निगमले सोमबारदेखि पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरेको जनाएको छ। बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको हो।
नयाँ मूल्यअनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ तथा डिजेल–मट्टीतेल १५२ रुपैयाँ पुगेको छ। दोस्रो वर्गअन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोल १७१ रुपैयाँ र डिजेल–मट्टीतेल १५१ रुपैयाँ कायम गरिएको छ।
यस्तै पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।

