काठमाडौं,०५ चैत । मानव अधिकार तथा शान्ति समाजले अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्व तत्काल अन्त्य गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।
समाजले काठमाडौंस्थित अमेरिकी राजदूतावास, इजरायली राजदूतावास र इरानी कन्सुलेट कार्यालय अगाडि एकै दिन प्रदर्शन गर्दै शान्ति स्थापना गर्न अन्तर्राष्ट्रिय पहलको माग गरेको हो।
प्रदर्शनकारीहरूले “युद्ध रोक, शान्ति प्रवर्द्धन गर”, “हिंसारहित समाज–युद्धरहित विश्व” जस्ता नारासहित प्लेकार्ड बोकेका थिए। उनीहरूले अमेरिका, इजरायल र इरानलाई आक्रामक गतिविधि रोक्दै कूटनीतिक समाधानतर्फ जान आग्रह गरेका छन्।
प्रदर्शनपछि डोनाल्ड ट्रम्प लाई सम्बोधन गर्दै शान्ति समाजले पत्रसमेत अमेरिकी दूतावासमार्फत बुझाएको छ। पत्रमा युद्धको विस्तार विश्व शान्तिका लागि गम्भीर खतरा भएकाले तत्काल युद्ध अन्त्य गर्न पहल गर्न आग्रह गरिएको छ।
कार्यक्रममा संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, पूर्व सभापति गोविन्द खनाल लगायतको सहभागिता रहेको थियो।
यस्तै, शान्ति समाजका विभिन्न जिल्ला शाखाहरूले बुटवल, सुर्खेत, भरतपुर, नेपालगन्ज, पोखरा लगायतका शहरहरूमा पनि समानान्तर प्रदर्शन गरेका छन्।

