काठमाडौं,०५ चैत । जय ट्रफी बहुदिवसीय इलिट कप क्रिकेटको फाइनलमा नेपाल पुलिस क्लब ले उपाधि जित्न २२७ रनको लक्ष्य पाएको छ।
मुलपानी क्रिकेट मैदानमा जारी खेलमा त्रिभुवन आर्मी क्लब ले दोस्रो इनिङ्समा ७४.२ ओभरमा २२६ रन बनाउँदै पुलिसलाई चुनौतीपूर्ण लक्ष्य दिएको हो। यसअघि पहिलो इनिङ्समा दुवै टोलीले समान २२१ रन बनाएका थिए।
आर्मीका लागि आकाश चन्दले ३७ रन बनाउँदै टोलीलाई मजबुत स्थितिमा पुर्याए। कुशल मल्लले ३६, शाहव आलमले ३३, भीम सार्कीले ३२ तथा सोमपाल कामीले अविजित २३ रनको योगदान दिए।
पुलिसका बलर सागर ढकालले ४ विकेट लिँदा ललित राजवंशी र करण केसीले समान ३–३ विकेट हात पारे।
जवाफमा ब्याटिङ थालेको पुलिसले २५ रन बनाउँदा एक विकेट गुमाएको छ। ओपनर अमित श्रेष्ठ शून्यमै आउट भए भने दिनेश खरेल ११ र रसिद खान १० रनमा क्रिजमा छन्।
खेल अन्तिम चरणतर्फ उन्मुख हुँदै गर्दा दुवै टोलीबीच प्रतिस्पर्धा रोमाञ्चक बनेको छ।

