काठमाडौं । बुद्ध एयर का कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत ले खाडी क्षेत्रमा जारी द्वन्द्वले नेपालको पर्यटन उद्योगमा प्रत्यक्ष र गम्भीर असर पारेको बताएका छन् । विशेषगरी पर्यटकीय सिजनकै समयमा यस्तो अन्तर्राष्ट्रिय अस्थिरता उत्पन्न हुँदा विदेशी पर्यटकहरूको यात्रा योजना प्रभावित भएको उनले उल्लेख गरे ।
बस्नेतका अनुसार पछिल्लो समय नेपाल भ्रमणका लागि अग्रिम बुकिङ गरेका पर्यटकहरूले धमाधम टिकट रद्द गरिरहेका छन् । यसले हवाई सेवा प्रदायक कम्पनी मात्र नभई होटल, ट्राभल एजेन्सी, गाइड सेवा लगायत सम्पूर्ण पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पारिरहेको छ । उनले भने, “पर्यटन उद्योग अन्तर्राष्ट्रिय परिस्थितिसँग अत्यन्त संवेदनशील हुन्छ, र अहिले देखिएको अवस्था त्यसको स्पष्ट उदाहरण हो ।”
यसैबीच, बुद्ध एयर ले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा हवाई इन्धनको मूल्यमा हालै भएको वृद्धि अहिलेसम्मकै उच्च रहेको उल्लेख गरिएको छ । स्वचालित मूल्य प्रणालीमार्फत भएको इन्धन मूल्यवृद्धिले हवाई सेवा सञ्चालन खर्चमा ठूलो दबाब सिर्जना गरेको कम्पनीको भनाइ छ । सोही कारण हवाई भाडादरमा पनि वृद्धि गर्न बाध्य भएको जनाइएको छ ।
कम्पनीले स्पष्ट पारेको छ कि हाल गरिएको भाडा समायोजन पूर्ण रूपमा प्रचलित नियम तथा नियमनको दायराभित्र रही गरिएको हो । प्रतिकूल परिस्थितिका बाबजुद यात्रुहरूलाई अत्यधिक भार नपरोस् भन्ने उद्देश्यले न्यूनतम स्तरमै भाडा वृद्धि गरिएको बस्नेतले जानकारी दिए ।
उनका अनुसार सामान्य अवस्थामा हवाई सेवाको कुल सञ्चालन खर्चमध्ये करिब ४० प्रतिशत हिस्सा इन्धनमा खर्च हुने गर्दछ । तर पछिल्लो मूल्यवृद्धिपछि यो अनुपात झण्डै ५० प्रतिशतको हाराहारीमा पुगेको छ, जसले कम्पनीको आर्थिक व्यवस्थापन थप चुनौतीपूर्ण बनाएको छ ।
त्यसैगरी, अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिले पनि हवाई क्षेत्रमा थप आर्थिक दबाब सिर्जना गरेको छ । जहाजका पार्टपुर्जा खरिद, नियमित मर्मतसम्भार, प्राविधिक जनशक्तिको तालिम, र अन्य प्राविधिक सेवाहरू डलरमा आधारित हुने भएकाले लागत उल्लेखनीय रूपमा बढेको कम्पनीले जनाएको छ ।
हालको जटिल परिस्थितिमा इन्धनको मूल्य घट्ने प्रतीक्षा गर्नुबाहेक तत्काल कुनै विकल्प नरहेको बुद्ध एयर को भनाइ छ । यद्यपि, अन्तर्राष्ट्रिय अवस्था सुधार हुँदै गएसँगै नेपालको पर्यटन क्षेत्र पुनः मजबुत रूपमा उभिने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
पर्यटन क्षेत्रले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै रोजगारी सिर्जनामा ठूलो भूमिका खेलेको उल्लेख गर्दै बस्नेतले निजी क्षेत्र र सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको औंल्याए । उनले पर्यटन पुनरुत्थानका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको पनि बताए ।
यी सबै चुनौतीका बाबजुद पनि बुद्ध एयर नवनिर्वाचित सरकारसँग सहकार्य गर्दै हवाई सेवा सुधार तथा पर्यटन प्रवर्द्धनमा प्रतिबद्ध रहेको जनाएको छ ।

