महोत्तरी,२२ चैत । बर्दिबास युथ क्लबले बर्दिबास अस्पताललाई थाइराइड रोग पहिचानका लागि आवश्यक आधुनिक उपकरण सहयोग गरेको छ।
क्लबले करिब २५ लाख रुपैयाँ बराबरको ‘सिला मागलुमि ८००’ नामक उपकरण अस्पताललाई हस्तान्तरण गरेको हो। अस्पतालमा थाइराइड परीक्षणको सुविधा नहुँदा बिरामीहरू अन्य अस्पताल जान बाध्य थिए।
यस समस्यालाई मध्यनजर गर्दै क्लबले २४ लाख ८६ हजार रुपैयाँ मूल्यको उपकरण उपलब्ध गराएको जनाएको छ। उक्त उपकरण बर्दिबास युथ क्लबका अध्यक्ष कृष्ण कार्कीले बर्दिबास नगर प्रमुख प्रल्हादकुमार क्षेत्री र अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्मालाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा नगर प्रमुख क्षेत्री र अस्पताल विकास समितिका अध्यक्ष शर्माले अबदेखि बर्दिबास अस्पतालमै थाइराइड रोगको परीक्षण तथा उपचार सेवा सुरु हुने जानकारी दिएका छन्। यससँगै स्थानीय स्तरमै स्वास्थ्य सेवा थप सुदृढ हुने अपेक्षा गरिएको छ।

