काठमाडाैँ,१२ माघ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव संविधान र कानुन अनुरूप हुनुपर्ने बताएका छन् ।
बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताए ।
‘हाम्रो धारणा संविधानलाई सर्वोपरि राखेर, कानून अनुरुप नै चुनाव सम्पन्न हुनुपर्छ । यसो गर्दा एकै पटकमा तीन वटा नै तहको निर्वाचन गर्न सकियो भने राम्रो हुन्छ । किनभने एउटा चुनाव गराउँदा झन्डै ५ अर्ब रुपैयाँ खर्च हुन्छ । योभन्दा पहिला ५ चरणमा चुनाव भएको थियो । त्यसमा झन्डै २५ अर्ब रुपैयाँ खर्च भएको थियो । यदी एकै चरणमा गर्ने हो भने ५ देखि १० अर्बमा चुनाव सकिन्छ । उम्मेदवारको पनि खर्च कम हुन्छ । त्यसका निम्ति हामी छलफल चलाइरहेका छौँ,’ उनले भने ।
उनले सत्तारुढ दलबीच एकैपटक तीनवटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने निष्कर्ष निस्किएकाले विज्ञसँग विस्तृत छलफल गरिरहेको बताए । अध्यक्ष नेपालले आज (बुधबार) भइरहेको राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तारुढ गठबन्धनले जित्ने दाबीसमेत गरे ।
‘सातै वटा प्रदेशमा हुने चुनावमा हाम्रो पार्टीबाट ५ जनालाई उम्मेदवारी दिएका छौँ । माओवादी ५ जना, कांग्रेस ६ जना, राष्ट्रिय जनमोर्चा १ र जनता समाजवादीको २ जना गरी यसरी हामीले उम्मेदवार तयार गरेका छौँ । ती उम्मेदवारहरूको आज फैसला पनि हुनेछ । हामीलाई आशा छ । १८ वटा स्थानमा हामी नै हामी विजयी हुनेछौँ,’ उनले भने ।
अध्यक्ष नेपालले राष्ट्रियसभाको १९ सिटको जितले अन्य तहको चुनावमा पनि तरंग पैदा गर्ने बताए ।