१७ वैशाख, वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको ल्याबमा म्याद गुज्रिएको केमिकल प्रयोग भएको प्रकरण सेलाउँदै गएको छ । गएको चैत २६ गते अस्पतालका एमडी शाहनवाज हुसेन र ल्याब प्रमुख सन्जय साहलाई पक्राउ गरेपनि प्रहरीले पछि हाजिरी जमानीमा छाडेपछि यो मुद्धा ओझेलमा पर्दै गएको हो ।
अनुगमनको क्रममा म्याद गुज्रिएको केमिकल प्रयोग भएको पाइएपछि हुसेन र साह विरुद्ध प्रहरीले कालोबजारी तथा केही अन्य सामाजिक अपराधविरुद्ध मुद्दा दायर गरेको थियो । अनुसन्धानका लागि अदालतबाट लिएको २ दिनको म्याद सकिएपछि फेरी थप ५ दिनको म्याद थपेकै दिन चैत २८ गते राति प्रहरीले दुवैलाई हाजिरी जमानीमा छाडिदियो ।
अनुसन्धान गर्न अदालतको अनुमती हुँदाहुँदै एसपी कुमोध ढुंगेलले अभियुक्तहरुलाई किन रातरात छाडियो र अहिलेसम्म पनि बयान लिने काम किन गरिएन भन्ने चासोको विषय बनेको छ ।
पक्राउ गर्ने बेला बहादुरी देखाएका एसपी ढुंगेल ठूलो राजनीतिक दबाब थेग्न नसकेर पछि हटेको केहीको बुझाई छ भने कतिपयले राम्रै आर्थिक लेनदेनका कारण यो प्रकरण कमजोर बनाउने खेल सुरु भएको बताउने गरेका छन् ।
यद्यपी प्रहरीले भने स्वास्थ्यका कारण उनीहरुलाई अनुसन्धानको क्रममा बोलाएको समयमा आउने सर्तमा हाजिरी जमानीमा छाडिएको बताउँदै आएको छ ।
मुद्दा दायर भएको २१ दिन विति सक्दा पनि अभियुक्तहरुसँग एक पटक पनि बयान लिन लिएको छैन । स्वास्थ्यको कारण देखाउँदै अभियुक्तहरु एक दिन पनि हिरातमा बसेनन् । नारायणी अस्पतालमा समेत बस्न नमानेपछि उनीहरुको चाहाना बमोजिम सुविधा सम्पन्न वीरगञ्ज हेल्थ केयर अस्पतालमा लगेर भर्ना गरियो ।
तर हाजिरी जमानीबाट रिहा भएलगतै उनीहरु अस्पतालबाट डिस्चार्ज भए । उनीहरुको स्वास्थ्य समस्या प्राविधिक विषय भएपनि आम सर्वसाधारणले भने पत्याएका छैनन् । प्रहरी हिरासतमा बस्न नपरोस् भनेर गरेको नाटकको रुपमा बुझेका छन् ।
यदी उनीहरुको ठाउँमा अन्य आम सर्वसाधारण नागरिक भएको भए के प्रहरीले यसरी नै छाड्थ्यो होला त ? प्रश्न उठेको छ ।
कानूनको नजरमा सबै समान हुन्छन् । तर कानून कार्यान्वयन गर्ने निकाय प्रहरी प्रशासनको नजरमा सबै समान नहुँदा सानालाई ऐन, ठूलोलाई चैन हुने गरेको सर्वविदितै छ ।
प्रहरीमा काबिल अफिसरका रुपमा चिनिने एसपी ढुंगेल पर्सा आएको धेरै भएको छैन । पर्साको कमान्ड सम्हाले लगतै उनले कानून बमोजि आफु चल्ने बताएका थिए । त्यसको केही समयमा यस प्रकरणमा हुसेन र साहमाथि अनुसन्धान गर्न अदालतले दिएको अनुमतीलाई समेत वेवास्ता गरेर रातरात अभियुक्तहरु छाडेपछि एसपी ढुंगेलको कार्य सम्पादन प्रति आशंका उब्जिएको छ ।
परीक्षणका लागि माथिल्लो निकायमा पठाइएकाले प्रक्रिया लामो भयो: एसपी ढुंगेल
ल्याबमा भेटिएको केमिकल थप परीक्षणका लागि माथिल्लो निकायमा पठाइएकाले प्रक्रिया लामो भएको एसपी ढुंगेलले बताएका छन् । त्यसको रिपोर्ट आएपछि सोही बमोजिम अगाडी बढने उनले बताए ।
‘यो विषयमा हामी संवेदनशील छौं । कानून ठूलो हो । मान्छे ठूलो कुरो हैन । उनले भने– प्रश्नहरु कन्फयूजन छ । कन्फयूजनको विषमा हामीले सोधेका छौं । त्यसको जवाफ आएपछि कसरी अगाडी बढ्ने भन्ने कुरो तय हुन्छ ।’
उनले यो केशको रिपोर्ट आइसकेपछि उनीहरुलाई बयानका लागि बोलाइने बताए ।

