बीरगन्ज,१५ चैत । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका हुन् । पार्टीभित्र जालझेल गरेर आफूलाई माइनस गरिएकाले जनमत पार्टी रोजेको उनले लगाए ।
गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार थिए । तर उनी तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए ।
बारा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेता रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचत भएपछि निर्वाचन आयोगले बारा क्षेत्र नं. २ मा उप निर्वाचनको मति घोषणा गरि सकेको छ । बारा २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
कुशवाहा पहिलो संविधान सभाको चुनावमा नेकपा माओवादी पार्टीबाटै पहिलो पटक संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । बारा निर्वाचन क्षेत्र नं. २ मा उपेन्द्र यादव, राजेन्द्र महातो,राधेचन्द्र यादव लगायतका नेताहरु चुनाव लडने चर्चा चलीरहेको बेला कुशवाहाले आफुले समेत उम्मेदवारी दिने बताउँदै आएका थिए ।
जनमत पार्टीले यसअघि नै बारा निर्वाचन क्षेत्र नं. २ मा आफ्नो पार्टीको तर्फबाट उम्मेदर खडा गर्ने बताइसकेको छ । शिवचन्द्र कुशवाहाको पार्टी प्रवेशसँगै जमनत पार्टीको उम्मदेवार बारा क्षेत्र नं. २ मा कुशवाहा नै हुनु प्राय निश्चित भएको छ । कुशवाहाले उपेन्द्र यादव चुनाव लडे उनलाई हराउने बताए । कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनमत पार्टी जनताको मात्र नभई नेताको समेत उद्धारकर्ता भएको बताए ।