काठमाडौं । नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जनयुद्ध दिवस क्याबिनेट डिसिजन भएकाले कसैले भन्दैमा नहटाउने बताएकी छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभाको बैठकमा हिंसा थालेको दिन दिवस हुन नसक्ने भन्दै खारेज नगरे कदम चाल्ने चेतावनी दिएपछि उनले यस्तो बताएकी हुन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेपछि सञ्चारकर्मीहरुको प्रश्नमा उनले भनिन्, ‘यो क्याबिनेट डिसिजन हो । हिजो हामी नेकपा एमालेसँगै गठबन्धनमा थियौं । त्यतिबेलाको गठबन्धनको सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने भनेर क्याबिनेटबाट पारित गरेको विषय हो । क्याबिनेटले पास गरेको विषय संसदमा एकजना नेताले बोल्दैमा केही हुँदैन । क्याबिनेटले पारित गरिसकेपछि जनयुद्ध दिवस मनाएर जान्छ । जनयुद्ध दिवसको विषयमा उहाँले व्यक्त गरेको अभिव्यक्तिमा सरकारको सहमति छैन ।’
उनले आज व्यवस्था र अवस्था जनयुद्धकै जगमा बनेको दाबी गरिन् ।
मन्त्री शर्माले भनिन्, ‘जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न हुँदैनथ्यो भने हामी यो संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा हुँदैनथ्यौं । क्याबिनेटले डिसिजन गरेर सरकारको क्यालेण्डरमै समावेश भइसकेको विषयमा अनावश्यक ढंगले घृणा फैलाउनु उपयुक्त हुँदैन ।’
उनले जनयुद्ध खास पार्टी र व्यक्तिको विषय नभएकाले सरकारले दिवसकै रुपमा मनाउने दोहोर्याइन् ।