प्युठानको माछा पालन र कृषि व्यवसायमा पानी अभावका कारण ठूलो संकट

spot_img

प्युठान, ११ चैत्र । प्युठानको खैरामा माछा पालन गर्ने भोजबहादुर बस्नेत र अन्य कृषक पानीको अभावका कारण गम्भीर समस्यामा परेका छन्। खैराबाट सारिवाङ जाने सडक निर्माणको क्रममा कुलो पुरिएर पानी आपूर्ति बन्द भएपछि माछा पोखरीहरू सुक्न थालेका छन्।

झिमरुक मत्स्य पालन र एकीकृत कृषि फर्मका सञ्चालक बस्नेतका अनुसार, माछा पालनका लागि आवश्यक पानीको अभावका कारण उनका पोखरीहरूमा करिब सात क्विन्टल माछा मरेका छन्। ‘यो भुरा स्टकिङ गर्ने समय हो, यहीं बेला पोखरी सुकेर माछा मरे,’ बस्नेतले भने।

अर्कोतर्फ, गाई र भैंसी पालन गर्ने हिमाल पोखरेलले पनि सिँचाइको अभावका कारण घाँस सुक्यो र दूध उत्पादनमा कमी आएको छ। ‘घाँसलाई १५–१५ दिनमा सिँचाइ गर्नुपर्छ, तर पानीको अभावमा घाँस सुक्यो र दूधको उत्पादन घटेको छ,’ पोखरेलले भने।

खैराको फाँट अन्न उत्पादनको प्रमुख क्षेत्र हो, जहाँ झिमरुक खोलाको पानी कुलोमार्फत सिँचाइमा प्रयोग हुँदै आएको थियो। तर सडक निर्माणका कारण कुलो बन्द भएपछि किसानहरू पानीको अभावमा गम्भीर संकटमा परेका छन्।

माछापालक बस्नेतले भने, ‘सीडीओले मेरो पोखरीमा आएर माछा मरेको देख्नुभयो, तर कुलोमा पानी चलाउन सकिएको छैन। यसले हामीलाई ठूलो धक्का पुर्‍याएको छ।’

यदि पानीको आपूर्ति नदेखिए अझै केही दिनमा माछा पालनको कारोबारमा थप क्षति पुग्ने खतरा रहेको बस्नेतले चेतावनी दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय