सभापति देउवाद्धारा योगी आदित्यनाथसम्बन्धी आफ्नै अघिल्लो भनाइको खण्डन

spot_img

काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसम्बन्धी आफ्नै अघिल्लो भनाइको खण्डन गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा देउवाले यसअघि गलत सूचनाको आधारमा दिल्लीस्थित नेपाली दूतावासमा आदित्यनाथ पुगेको भनेर बोलेको स्वीकार गरे। उनले स्पष्ट पारे कि आदित्यनाथ दूतावास गएका होइनन्, बरु भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले उनलाई भेट्न गएका थिए।

“अस्ति मैले गलत सूचनाका आधारमा भारतका मुख्यमन्त्रीबारे बोलेछु,” देउवाले भने, “उहाँ दूतावासमा जानुभएको होइन, राजदूतले उहाँलाई भेट्न गएका रहेछन्।”

यसअघि, चैत २५ गते देउवाले योगी आदित्यनाथ दूतावासमा पुगेर नेपालमा राजतन्त्रको पक्षमा नरहेको बताएका भन्ने दाबी गरेका थिए। तर, अब उनले उक्त कुरा राजदूत र आदित्यनाथबीचको भेटमा भएको उल्लेख गर्दै आफ्नो अघिल्लो भनाइ खारेज गरेका छन्।

“हामी नेपालमा राजाको पक्षमा छैनौं भन्ने कुरा मुख्यमन्त्रीले भनेको सुन्नमा आएको हो। तर त्यो दूतावासभित्रको कुरा होइन, त्यसैले म स्पष्ट रूपमा खण्डन गर्न चाहन्छु,” देउवाले भने।

spot_img

ताजा अपडेट

लोकप्रिय