काठमाडौं,२८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८२ को निर्वाचन परिणामलाई अप्रत्याशित र चुनौतीपूर्ण भन्दै जनताको मत पूर्ण सम्मानका साथ स्वीकार गर्ने घोषणा गर्नुभएको छ।
आफ्नै गढ मानिने झापा क्षेत्र नम्बर ५ बाट पराजित भएपछि ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत भावुक सन्देश जारी गर्दै निर्वाचनमा पार्टी र आफूले अपेक्षा गरेजस्तो नतिजा नआएको स्वीकार गर्नुभएको हो। उहाँले लोकतन्त्रमा जनता नै अन्तिम निर्णायक हुने र उनीहरूको फैसलालाई राजनीतिक दल र नेतृत्वको परम कर्तव्यका रूपमा मान्नुपर्ने बताएका छन्।
यसपटकको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ मात्रै ९ सिटमा जित निकाल्दा पार्टीको स्थिति कमजोर देखिएको छ। समानुपातिकतर्फ पनि एमाले तेस्रो स्थानमा खुम्चिएको छ। तथापि, अध्यक्ष ओलीले जनताप्रतिको आफ्नो प्रतिबद्धता र सेवाभावमा कुनै कमी नआउने स्पष्ट पार्नुभएको छ।
ओलीले मतदातासँगको सम्बन्ध अझ प्रगाढ बनाउन र आगामी दिनमा पनि सक्रिय रूपमा जनताकै बीचमा रहेर काम गरिरहने अठोट व्यक्त गर्नुभएको छ। उहाँले मत दिने र विश्वास राख्ने सबै मतदातालाई हृदयदेखि धन्यवाद दिँदै भने, “तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो।”
चुनावी पराजयका बाबजुद ओलीको उदार र लोकतान्त्रिक अभिव्यक्ति राजनीतिक विश्लेषकहरूले लोकतान्त्रिक संस्कारको उदाहरणीय पक्षका रूपमा मूल्याङ्कन गरेका छन्।

