काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ अन्तर्गत आज एक मात्र खेल हुँदैछ, जहाँ अपराजित यात्रामा रहेको विराटनगर किङ्स चितवन राइनोजसँग भिड्दैछ। खेल अपरान्ह ४ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुनेछ।
विराटनगरले यसअघि खेलेका तीनै खेल जित्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ। पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सलाई हराउँदै टोली उच्च मनोबलसहित मैदानमा उत्रनेछ।
चितवन राइनोजले भने दुई खेल खेलेको छ। कर्णाली याक्सलाई पराजित गर्दै राम्रो सुरुवात गरे पनि दोस्रो खेलमा लुम्बिनी लायन्ससँग हार बेहोरेको थियो। आजको खेलमा टोली पुनः लयमा फर्किन चाहन्छ।
गत संस्करणमा यी दुईबीच भएको भिडन्तमा विराटनगरले ५१ रनको ठूलो जीत निकालेको थियो।
अंकतालिकामा विराटनगर तीन खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ भने चितवन दुई अंकसहित पाँचौँ स्थानमा रहेको छ।

