काठमाडौं,२८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले संविधान संशोधनमार्फत नेपाललाई पुनः हिन्दूराष्ट्र बनाउने प्रतिबद्धता भए सम्भावित सरकारलाई समर्थन गर्न तयार रहेको बताएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै थापाले रास्वपा र बालेन शाह नेतृत्वमा बन्न सक्ने सरकारलाई संसदमा दुईतिहाइ बहुमत पुग्न दुई सिट कम रहेको उल्लेख गरेका छन्।
उनका अनुसार यदि प्रस्तावित सरकारले धार्मिक स्वतन्त्रता र समानताको सुनिश्चिततासहित नेपाललाई हिन्दूराष्ट्रका रूपमा पुनःस्थापित गर्ने विषयमा स्पष्ट प्रतिबद्धता जनाउँछ भने राप्रपा संविधान संशोधनका लागि आवश्यक समर्थन दिन तयार रहनेछ।
थापाले यस्तो अवस्थामा राप्रपाका सांसदहरूले संसदमा पूर्ण सहयोग गर्ने बताएका छन्।
नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउँदै आएको राप्रपाले लामो समयदेखि संविधान संशोधनमार्फत देशलाई पुनः हिन्दूराष्ट्र बनाउने माग गर्दै आएको छ।




