बारा,१२ मंसिर । यातायात व्यवस्था कार्यालय सवारी शाखा पर्साका कार्यालय प्रमुख कुशेश्वर साह र इन्जिनियर नितेश्वर यादवबीच आज करिब ११ बजे कार्यालय परिसरमै हात हालाहाल भएको छ।
कार्यालयका एक कर्मचारी र एक सेवाग्राहीका अनुसार, रक्सीले मातेर कार्यालय प्रवेश गरेका इन्जिनियर यादवले प्रमुख साहलाई ‘आमा चकारी’ गालीगलौज गर्दै हात हालेका थिए।
लगत्तै अन्य कर्मचारीहरूले उनीहरूलाई छुटाएका थिए। स्रोतका अनुसार, हालै करारका कर्मचारीलाई हटाएको विषयमा इन्जिनियर यादवले प्रमुख साहसँग मतभेद राख्दै आएका थिए।
यो घटनाले कार्यालयको अनुशासनहीनताको पराकाष्ठा देखाएको छ, जहाँ एक जिम्मेवार कर्मचारीले मादक पदार्थ सेवन गरी कार्यालय समयमा कार्यालय प्रमुखमाथि नै हातपात गरेका छन्। झगडापछि रक्सीले मातेका इन्जिनियर यादव भागेको र यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल स्विच अफ रहेको बताइएको छ।

