काठमाडौं । बंगलादेशमा एक हिन्दू युवकको सामूहिक कुटपिटपछि हत्या भएको घटनालाई लिएर चौतर्फी आलोचना बढेपछि अन्तरिम सरकार सक्रिय बनेको छ। प्रमुख सल्लाहकार मोहम्मद यूनुस नेतृत्वको सरकारले घटनामा संलग्न ७ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ।
सरकारी भनाइ अनुसार, दीपु चन्द्र दासलाई समूहले निर्घात कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको थियो। रैपिड एक्शन बटालियनले अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान जारी राखेको जनाएको छ।
यूनुस सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सार्वजनिक रूपमा माफी मागेको छ र नयाँ बंगलादेशमा साम्प्रदायिक हिंसाका लागि कुनै स्थान नरहेको स्पष्ट पारेको छ। साथै, दोषीलाई कडा कानुनी सजाय दिइने प्रतिबद्धता जनाइएको छ।
यो घटना युवा नेता शरीफ उस्मान हादीको मृत्युपछि उत्पन्न तनावका बीच भएको हो। सरकारले जनतालाई शान्त रहन, अफवाहमा नफस्न र कानून–व्यवस्था कायम राख्न सहयोग गर्न अपील गरेको छ।

