काठमाडौँ,२७ पुस । चर्चित गायक तथा इन्डियन आइडल विजेता प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको आइतबार निधन भएको निर्माता राजेश वंशलले तामाङकी श्रीमतीलाई उद्धृत गर्दै पुष्टि गरेका हुन् ।
निर्माता वंशलका अनुसार तामाङसँग तीन दिनअघि मात्र कुराकानी भएको थियो । ‘आज अचानक निधनको खबर सुन्दा पत्याउनै गाह्रो भयो,’ वंशलले भने, ‘परिवारका सदस्यले हृदयघातका कारण निधन भएको जानकारी दिनुभयो।’
इन्डियन आइडलको तेस्रो संस्करण जितेपछि व्यापक चर्चा कमाएका तामाङ पछिल्लो समय सलमान खान अभिनित चलचित्र ‘ब्याटल अफ गलवान’ मा अभिनय गरिरहेका थिए । उक्त फिल्मको डबिङ अझै बाँकी रहेको बताइएको छ ।
तामाङले नेपाली चलचित्र ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ लगायतमा अभिनय गरेका थिए । अभिनयसँगै उनले थुप्रै लोकप्रिय गीतहरूमा स्वर पनि दिएका छन् ।
भारतीय मूलका नेपालीभाषी गायक तामाङ इन्डियन टेलिभिजन रियालिटी शो इन्डियन आइडलका विजेता हुन् । पछिल्लो समय उनी भारतको दिल्लीमा बस्दै आएका थिए । त्यहीँ उनको निधन भएको बताइएको छ ।

