वीरगञ्ज, १० माघ – जित्ने प्रबल आधार हुँदाहुँदै उम्मेदवारी फिर्ता लिएपछि राजेश्वर साह तेली तीव्र आलोचनाको घेरामा परेका छन्। नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी बनेका पूर्व प्रदेशसभा सदस्य साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराए पनि निर्वाचन आयोगले तोकेको समयसीमाभित्र उम्मेदवारी फिर्ता लिँदै पुनः कांग्रेसमै फर्किएका हुन्।
उनको यो कदमपछि समर्थकहरूबीच तीव्र असन्तुष्टि फैलिएको छ। कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने अडानसहित समर्थकहरूको सहयोगमा उम्मेदवारी दिएका तेलीले अन्तिम समयमा आएर आर्थिक तथा पदको लोभमा उम्मेदवारी फिर्ता लिएको आरोप समर्थकहरूले लगाएका छन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसले पूर्वमन्त्री अजयकुमार चौरसियालाई पुनः चुनावी मैदानमा उतारेपछि तेलीको उम्मेदवारी फिर्तालाई अझै शंकास्पद रूपमा हेरिएको छ। राजेश्वर साह तेलीको उम्मेदवारी फिर्ता सुनिश्चित गर्न दलालमार्फत करोडौँ रुपैयाँसम्मको बार्गेनिङ भएको अपुष्ट तर व्यापक चर्चा बाहिर आएको छ।
त्यसैगरी, हालका प्रदेशसभा सदस्य श्याम पटेललाई सो क्षेत्रबाट हटाई आगामी प्रदेशसभा निर्वाचनमा तेलीलाई उम्मेदवार बनाउने विषयमा कांग्रेस पर्साभित्र गोप्य सहमति भएको दाबीसमेत गरिएको छ। यद्यपि, कांग्रेस पर्साले यी विषयको औपचारिक पुष्टि गरेको छैन।
उम्मेदवारी फिर्ताबारे तेलीले सामाजिक सञ्जालमार्फत लामो आत्मवृत्तान्त लेख्दै सफाइ दिए पनि पर्सावासीले त्यसलाई सहजै स्वीकार गरेका छैनन्। आम मतदाताले यस घटनामा ठूलो आर्थिक चलखेल भएको आरोप लगाउँदै निर्वाचन आयोगले गम्भीर छानबिन गर्नुपर्ने माग गरेका छन्।

चुनावका बेला पटक–पटक नाटक मञ्चन गर्ने र अवसरअनुसार धारणा बदल्ने आरोप खेप्दै आएका तेलीको यो व्यवहारले उनका समर्थकहरू आक्रोशित बनेका छन्। उनका एक समर्थकले “तेलीको राजनीतिक जीवन यहीँ समाप्त भयो, अब क्षेत्रवासीले उनलाई कहिल्यै विश्वास गर्ने छैनन्” भन्ने प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जालमा तेलीको यो कदमलाई ‘आत्मघाती राजनीतिक निर्णय’ को रूपमा विश्लेषण गरिएको छ। धेरैको बुझाइमा यसपटक उनले चुनाव लडेका भए नेपाली कांग्रेसकै मतबाट सहजै जित हासिल गर्न सक्ने अवस्था थियो।
पर्सा क्षेत्र नम्बर–२ मा कांग्रेसका अजयकुमार चौरसिया, नेकपा एमालेकी रिमा यादव, राप्रपाकी विना जेसवाल, नेपाली कम्युनिष्ट पार्टीका मनोज चौधरी, जसपा नेपालका अशोक टेमानीलगायत उम्मेदवारहरूलाई जितका प्रमुख दावेदारका रूपमा हेरिएको छ।
बाहिर फैलिएका हल्लाहरूको खण्डन गर्दै नेता तेलीले सामाजिक सञ्जालमा कसैसँग पनि पैसा, पद वा दबाबमा परेर कुनै गोप्य सहमति नगरेको दाबी गरेका छन्। तर उनको यो स्पष्टिकरणलाई जनस्तरमा अझै पनि अविश्वासकै दृष्टिले हेरिएको छ।

