काठमाडौं, २८ फागुन। नेपाल आयल निगम ले बजारमा देखिएको ग्यास आपूर्ति समस्यालाई व्यवस्थापन गर्न भोलि (शुक्रबार) देखि आधा सिलिन्डर मात्रै एलपी ग्यास वितरण गर्ने निर्णय गरेको छ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट का अनुसार अब उपभोक्ताले ७.१ केजी तौलको आधा सिलिन्डर ग्यास मात्र खरिद गर्न पाउनेछन्। आधा सिलिन्डरको मूल्य पनि साविकको सिलिन्डर मूल्यको आधा नै निर्धारण गरिएको उनले जानकारी दिए।
उनका अनुसार अन्तर्राष्ट्रिय स्तरमा भइरहेका युद्धका कारण ग्यासको माग बढ्नुका साथै आपूर्तिमा केही समस्या देखिएकाले बजारमा समान रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको हो।
भट्टले आधा सिलिन्डर वितरण गर्दा धेरै उपभोक्तासम्म ग्यासको पहुँच पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार पहिले एक हजार जनाले मात्रै ग्यास पाउने अवस्थामा अब करिब दुई हजार उपभोक्ताले ग्यास पाउन सक्नेछन्।
साथै, आधा सिलिन्डर मात्रै वितरण गर्ने व्यवस्थाले अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने प्रवृत्ति पनि घट्ने निगमको अपेक्षा छ। “आधा सिलिन्डर कसैले पनि लामो समयका लागि स्टक गरेर राख्दैन, जसलाई तत्काल आवश्यकता छ उसले मात्रै खरिद गर्छ,” भट्टले बताए।
निगमले यो निर्णयले बजारमा देखिएको ग्यास अभाव कम हुने र उपभोक्ताले सहज रूपमा ग्यास पाउने विश्वास व्यक्त गरेको छ।



