वीरगन्ज,२८ फागुन । पर्सा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेतर्फ उम्मेदवार बनेका रुपेश कुमार पाण्डेयले यसपालिको निर्वाचनमा गरेको खर्चको विवरण निर्वाचन कार्यालयमा पेश गरेका छन्।
आफ्ना निर्वाचन प्रतिनिधि विन्ध्यान्चल ठाकुरमार्फत पाण्डेयले बिहीबार पर्सा निर्वाचन कार्यालयमा आफ्नो खर्च विवरण बुझाएका हुन्। विवरणअनुसार उनले कुल ११ लाख ७५ हजार २७१ रुपैयाँ ८ पैसामात्रै खर्च गरेको जनाएका छन्।
पाण्डेयले सबैभन्दा बढी प्रचार–प्रसार सामग्रीमा ४ लाख ९५ हजार २७३ रुपैयाँ, इन्धनमा २ लाख रुपैयाँ, र सवारी साधन भाडामा १ लाख ९० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। यस्तै, पालिकास्तरीय बैठक नास्ता १ लाख ३१ हजार ६५० रुपैयाँ, निर्वाचन परिचालन तथा सम्पर्क कार्यालय सञ्चालनमा ६७ हजार ३४८ रुपैयाँ, नास्ता–चिया ५७ हजार रुपैयाँ, पानी १५ हजार रुपैयाँ र मनोनयन दर्ता १० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
फागुन २१ को निर्वाचनमा पर्सा–३ बाट रास्वपाका रामाकान्त चौरसियाले २९ हजार ६७९ मत पाउँदै विजयी भएका थिए। कांग्रेसका सुरेन्द्र चौधरीले १६ हजार ३६६ मत प्राप्त गरी दोस्रो स्थान लिएका थिए भने एमालेका पाण्डेय तेस्रो भएको निर्वाचन नतिजाले देखाएको छ।




