काठमाडाैं,२७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेट्रोइट र क्यानडाको विन्डसरलाई जोड्ने नयाँ गोर्दी होवे अन्तर्राष्ट्रिय पुलको उद्घाटन रोक्ने चेतावनी दिएका छन् । सोमबार ट्रुथ सोशलमा पोस्ट गर्दै उनले अमेरिकाले पूर्ण रूपमा क्षतिपूर्ति नपाएसम्म पुल खोल्न नदिने बताएका हुन् ।
१ दशमलव ५ माइल लामो यो पुलको मुख्य निर्माण कार्य पूरा भइसकेको छ । परीक्षणपछि यसै वर्ष पुल सञ्चालनमा आउने अपेक्षा गरिएको थियो, तर क्यानडाले अमेरिकालाई न्याय र सम्मान नदिएको आरोप लगाउँदै ट्रम्पले तत्काल वार्ता सुरु गर्ने बताएका छन् ।
‘अमेरिकाले दिएको सबै कुराको पूर्ण क्षतिपूर्ति नपाएसम्म म यो पुल खुल्न दिनेछैन । क्यानडाले हामीलाई निष्पक्ष व्यवहार गर्नैपर्छ ।’ उनले पोस्टमा लेखेका छन् । यद्यपि ट्रम्पले कानुनी वा प्रशासनिक रूपमा पुल कसरी रोक्न सक्छन् भन्ने स्पष्ट छैन । सीएनएनले ह्वाइट हाउस, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, मिशिगनकी गभर्नर ग्रेचेन ह्विटमर र पुल सञ्चालन गर्ने विन्डसर–डेट्राइट ब्रिज प्राधिकरणसँग प्रतिक्रिया मागेको छ ।
क्यानडाले पुलको दुवैतर्फ स्वामित्व राखेको र निर्माणमा करिब शून्य अमेरिकी सामग्री प्रयोग भएको गलत दाबी ट्रम्पले गरेको कुरा पनि आइरहेको छ । २०१२ को सम्झौताअनुसार करिब ४ अर्ब डलर लागतको यो पुल क्यानडाले पूर्ण रूपमा वित्तपोषण, निर्माण र सञ्चालन गर्ने भए पनि स्वामित्व क्यानडा सरकार र मिशिगन राज्यको संयुक्त हुनेछ ।
साथै सम्झौताले पुलमा प्रयोग हुने फलाम र इस्पात अमेरिका वा क्यानडामै उत्पादन हुनुपर्ने र कुनै देशलाई प्राथमिकता दिन नपाइने व्यवस्था गरेको छ ।



