वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रुपेश कुमार पाण्डेले चुनावी अभियानलाई तीव्र बनाएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पाण्डेले घरदैलो, जनता दर्शन र मतदाता भेटघाट कार्यक्रममार्फत जनसम्पर्क विस्तार गरिरहेका छन्, जसले स्थानीय तहमा उल्लेखनीय समर्थन जुटाउन थालेको छ।
स्थानीयले व्यक्त गरेको “गयो दिन भाषणको, अब परिणाम चाहियो” भन्ने जनभावनालाई आत्मसात गर्दै पाण्डेले विकास, सुशासन र जवाफदेहितालाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै खोक्रा आश्वासन होइन, काम गरेर देखाउने नेतृत्व आवश्यक रहेको सन्देश दिएका छन्। युवापुस्ताको भरोसा र अग्रजहरूको आशीर्वादले उनको उम्मेदवारी थप सबल बन्दै गएको देखिन्छ।
बुधबार पकहाँमैनपुर गाउँपालिकामा सम्पन्न घरदैलो तथा जनता दर्शन कार्यक्रममा एमालेका नेता, कार्यकर्ता र स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, सल्लाहकार परिषद् सदस्य शिव पटेल, संविधानसभा सदस्य प्रधुमन चौहान, अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघका अध्यक्ष तेजप्रकाश निषाद, उपाध्यक्ष तथा युवा नेता अकलेश कुमार साह, पालिका इन्चार्ज विजय चौरसिया लगायत नेताहरूको सक्रिय उपस्थिति थियो।
कार्यक्रममा स्थानीयले क्षेत्रको विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा ठोस पहल गर्नुपर्ने माग राख्दै पाण्डेप्रति विश्वास व्यक्त गरे। जनसमर्थन बढ्दै जाँदा पर्सा–३ मा परिवर्तनको संकेत स्पष्ट देखिन थालेको छ।

