सप्तरी,२९ माघ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बिरामीको चाप उल्लेख्य रूपमा बढेपछि उपचार सेवा प्रभावित भएको छ। जिल्लाकै एकमात्र सरकारी अस्पतालमा दैनिक ठूलो संख्यामा बिरामी आउँदा बेड र जनशक्तिको अभाव चर्किएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालको आकस्मिक कक्षमा मात्र दैनिक ५० देखि ६० जना बिरामी आउने गरेका छन्। आकस्मिक कक्षका इन्चार्ज अमित यादवका अनुसार झाडापखाला, ज्वरो लगायतका समस्या लिएर आउने बिरामीमध्ये बालबालिकाको संख्या बढी छ। “बेड अभावका कारण कतिपय बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था छ,” उनले बताए।
हाल आकस्मिक कक्ष, वार्ड तथा एचडीयू कक्ष सबै भरिभराउ छन्। एक सिफ्टमा एक जना चिकित्सकसहित तीन स्वास्थ्यकर्मीले ५०–६० जना बिरामीको उपचार गर्नुपर्दा सेवामा थप दबाब परेको छ।
मेडिकल सुपरिन्टेन्डेन्ट अवधेश मिश्रका अनुसार ५० शय्याको स्वीकृत दरबन्दी भएको अस्पतालमा व्यवहारमा १६२ बेड बराबरका बिरामीलाई सेवा दिनुपरेको छ। प्रावधानअनुसार ५० शय्याको अस्पतालमा पाँच बेड आकस्मिक सेवाका लागि छुट्याउनुपर्ने भए पनि यहाँ २५ बेडको आकस्मिक सेवा सञ्चालनमा छ, जहाँ त्यसको दोब्बर संख्यामा बिरामीको उपचार भइरहेको छ।
संघीय अस्पतालको मान्यता पाएको यस संस्थालाई तीन सय शय्यामा स्तरोन्नति हुनुपर्ने भए पनि आवश्यक विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध नभएको प्रशासन शाखा प्रमुख रेवन्तकुमार यादवले बताए। “गम्भीर अवस्थाका बिरामी आए विशेषज्ञ अभावमा व्यवस्थापन गर्न चुनौती हुन्छ,” उनले भने। जनशक्ति कमीका कारण बिदामा रहेका कर्मचारीसमेत ड्युटीमा खटिनुपर्ने अवस्था रहेको उनको भनाइ छ।
अस्पताल प्रशासनले पर्याप्त जनशक्ति, भौतिक पूर्वाधार र उपकरण उपलब्ध गराइएमा सेवा प्रवाह सहज हुने उल्लेख गरेको छ। बिरामीको निरन्तर बढ्दो चापलाई व्यवस्थित गर्न तत्कालीन समाधानको आवश्यकता देखिएको छ।

