रौतहटमा कर्फ्यु आदेश उल्लङ्घन गरेको आरोपमा १८ जनालाई पक्राउ

spot_img

रौतहट,०९ फागुन । रौतहटकाे गौर नगरपालिका मा जारी कर्फ्यु आदेश उल्लङ्घन गरेको आरोपमा १८ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुसाल का अनुसार निषेधित क्षेत्रमा आवतजावत गर्ने वा समूह बनाएर भेला हुन खोज्नेहरूलाई नियन्त्रणमा लिइएको हो।

सदरमुकाम गौरमा लागू कर्फ्यु आदेश अवज्ञा गर्दै हिँडडुल र समूह बनाएर भेला हुन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रशासनले जनाएको छ। पक्राउ परेकामाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरिएको छ। कर्फ्यु क्षेत्रमा कुनै पनि व्यक्ति आवतजावत, भेला, सभा, जुलुस वा प्रदर्शन गर्न पूर्णरूपमा रोक लगाइएको छ।

पूर्वमा मुडवलवा गेट, पश्चिमतर्फ ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालय गेटसम्मको क्षेत्र कर्फ्युको दायरामा राखिएको छ। गौर–६ सवगढामा दुई समुदायबीच पुनः झडप भएपछि स्थिति तनावपूर्ण बनेको छ। प्रशासनले स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौँ सुरक्षाकर्मी परिचालन गरेको छ। साथै सर्वसाधारणलाई कर्फ्यु पूर्णरूपमा पालना गरी शान्ति–सुरक्षामा सहयोग गर्न आग्रह गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय