बीरगन्ज,१४ फागुन । भारतले यस वर्ष गहुँ सिजनमा गण्डक नहरमा पानी नदिएका कारण नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, पर्साले नहरको सरसफाइ कार्य तीव्र बनाएको छ। कार्यालयका अनुसार पश्चिमतर्फ ५ किलोमिटर र पूर्वतर्फ साढे ४ किलोमिटर नहरको सरसफाइ सम्पन्न भइसकेको छ।
नारायणी सिंचाइ व्यवस्थापन कार्यालय बीरगन्जका प्रवक्ता इन्जिनियर सुरेश साहले बताए अनुसार, कतिपय स्थानमा माटोको तह १ मिटरभन्दा बढी जमेको हुँदा ती क्षेत्रमा विशेष ध्यान दिइएको छ। यसरी सरसफाइ गर्दा नहरमा पानीको प्रवाह सहज हुने र पूर्वी भेग रौतहटसम्म पानी नपुग्ने समस्या धेरै हदसम्म समाधान हुने विश्वास व्यक्त गरिएको छ।
साहका अनुसार, भारतीय पक्षले आफ्नै भू–भागमा पर्ने करिब ९३ किलोमिटर नहर संरचनामा मर्मत र सरसफाइ कार्य तीव्र बनाएको छ। नियमित मर्मत–सफाइका कारण यस वर्ष धान बाली सिजनमा सम्झौताअनुसार ८ सय ५० क्युसेक पानी उपलब्ध गराउने सम्भावना रहेको छ। भारतीय पक्षले चैत मसान्तभित्र मर्मत कार्य सम्पन्न गर्ने जनाएको छ।
नेपाल–भारतबीचको गण्डक सम्झौताअनुसार, भारतीय पक्षले प्रत्येक वर्ष धान बालीका लागि असार १५ र गहुँ बालीका लागि पुस १५ देखि नहरमा ८ सय ५० क्युसेक पानी उपलब्ध गराउनुपर्दछ। तर अघिल्ला वर्षमा नियमित रूपमा पानी नआउँदा, नेपालतर्फको अन्तिम बिन्दु रौतहटको पूर्वी क्षेत्रसम्म पानी पुग्न सक्दैन थियो।
गण्डक नहर प्रणाली अन्तर्गत कुल ३७,४०० हेक्टर जमिन सिंचित छ। यसमा पर्सामा १६,०००, बारामा ९,००० र बाँकी क्षेत्र रौतहटमा पर्दछ। नवलपरासीको त्रिवेणी भैंसालोट स्थित नेपाल–भारत सीमामा निर्मित व्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्दछ। भारतभित्र करिब ९३ किलोमिटर यात्रा गरेपछि नहर पर्साको जगर्नाथपुर गाउँपालिकाबाट नेपाल प्रवेश गर्छ र रौतहटस्थित बागमती नदीमा मिसिएपछि समाप्त हुन्छ।
यसरी सम्पन्न सरसफाइ र मर्मत कार्यले यस वर्ष गहुँ सिजनमा सिंचाइ सुविधा सहज हुने र किसानलाई पर्याप्त पानी उपलब्ध हुने अपेक्षा गरिएको छ।

