सर्लाही,१४ फागुन । सर्लाही–४ बाट लगातार तीन पटक संसदीय निर्वाचन जितेका अमरेशकुमार सिंहले पुनः उम्मेदवारी दिएका छन् । यसपटक उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उठेका हुन् । २०७० र २०७४ मा कांग्रेसबाट निर्वाचित उनले २०७९ मा स्वतन्त्र उठेर संसद्को ढोका उघारे । तर यसपटक सिंहले कडा प्रतिस्पर्धी पाएका छन्, आफ्नै पूर्व सहकर्मी गगनकुमार थापा ।
सर्लाहीको बलरा नगरपालिका–४ का स्थायी बासिन्दा सिंहले नयाँदिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् । २०२७ सालमा जन्मिएका उनी २०४२ सालदेखि विद्यार्थी राजनीतिमा जोडिएका थिए ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य सिंहको संसदीय यात्रा २०६३ मा अन्तरिम संसद्बाट शुरु भएको हो । कांग्रेस भित्र डा. शेखर कोइराला पक्षधर भनेर चिनिने सिंहले २०७९ सालको निर्वाचनमा टिकट पाएनन् । पार्टीले नागेन्द्र कुमारलाई उठाएपछि स्वतन्त्र उन्मेदवारी दिएका सिंह २० हजार १७ मत ल्याएर निर्वाचित भए । नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए ।
त्यतिबेलै कांग्रेसका तत्कालिन महामन्त्री गगन थापाको नाम सर्लाही–४ बाट सिफारिस भएको थियो । विशेष महाधिवेशनबाट सभापति चयन भएका थापा यसपटक सर्लाही झरेका छन् । स्वाभाविक रुपमा सिंहले थापालाई प्रमुख प्रतिद्वन्द्वीको रुपमा हेरेका छन् । अघिल्लो निर्वाचनको समानुपातिक मतमा कांग्रेस अगाडि थियो । कांग्रेसले त्यतिबेला १६ हजार २९ मत पाएको थियो ।
गत निर्वाचनमा समानुपातिक तर्फ दोस्रो बढी मत पाएको जनमत पार्टीले राकेशकुमार मिश्र, जसपा नेपालले रामेश्वरराय यादव, एमालेले अमनिशकुमार यादव र नेपाली कम्युनिष्ट पार्टीले राजनिस रायलाई उठाएको छ । चौथो पटक जित निकाल्न डा. सिंहलाई सानोतिनो मिहनेतले पुग्ने देखिँदैन ।

