काठमाडौं,१७ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभा निर्वाचनअघिको अनुगमनका क्रममा निर्वाचन आचारसंहिताको पूर्ण पालना नभएको निष्कर्ष निकालेको छ। आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उम्मेदवार र राजनीतिक दलहरूबाट आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको छ।
आयोगका अनुसार देशका विभिन्न स्थानमा आयोजित र्याली र सभामा बालबालिकाको सहभागिता, पत्रकारमाथि धम्की तथा कुटपिट, आचारसंहिताविपरीत चुनाव चिह्नको भौतिक प्रयोग, अनुमति बिना निजी घरमा प्रचार सामग्री र झण्डा टाँस्नु जस्ता गतिविधि देखिएका छन्। त्यस्तै स्थानीय तह र प्रदेश सरकारका पदाधिकारीहरू निर्वाचन प्रचारमा संलग्न हुनु पनि आचारसंहिता उल्लंघनका रूपमा औंल्याइएको छ।
अनुगमनका क्रममा उम्मेदवारहरूले अनुमतिबिना बढी सवारीसाधन प्रयोग गरेको, मतदातामाथि अनुचित प्रभाव पार्ने प्रयास गरिएको तथा दलका कार्यकर्ता र समर्थकले सामाजिक सञ्जालमार्फत गालीगलौज र दुष्प्रचार गरेको तथ्य पनि फेला परेको आयोगले जनाएको छ। साथै सीमान्तकृत समुदायसम्म पर्याप्त मतदाता शिक्षा नपुगेको विषयलाई पनि आयोगले चिन्ताको रूपमा उठाएको छ।
आयोगले ४२ जिल्लामा अनुगमन टोली परिचालन गरी निर्वाचन तयारी, आचारसंहिता पालना र शान्ति–सुरक्षाको अवस्थाबारे प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायसँग छलफल गरेको जनाएको छ।
यद्यपि दलका नेता र उम्मेदवारबीचको आपसी सौहार्दता, सुरक्षा निकायको सतर्कता तथा निर्वाचन अधिकारी र स्थानीय प्रशासनबाट भएको तयारीलाई आयोगले सकारात्मक रूपमा लिएको छ।
आयोगले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई धैर्यता, संयमता र जिम्मेवारीका साथ आचारसंहिता पालना गर्न आग्रह गरेको छ। साथै सामाजिक सञ्जालको दुरुपयोग नगर्न, गालीगलौजपूर्ण सामग्री प्रकाशन–प्रसारण नगर्न र सम्भावित अवाञ्छित गतिविधि रोक्न सरकार तथा सम्बन्धित निकायलाई सक्रिय भूमिका खेल्न अनुरोध गरेको छ।

