काठमाडौँ,२५ फागुन । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले आज शपथ ग्रहण गर्ने भएका छन्। शपथ कार्यक्रम दिउँसो २ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आयोजना गरिने तय गरिएको छ।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार शपथ ग्रहण कार्यक्रम नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम गराउनेछन्।
शपथका लागि सदस्यहरूले आफ्नो पहिचान झल्कने पोशाकमा उपस्थित हुनुपर्नेछ। साथै निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। नेपाली भाषा बाहेक मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले भने कानुनअनुसार शपथको व्यहोरा आफ्नो भाषामा अनुवाद गरी उपलब्ध गराउनुपर्नेछ।
गत राष्ट्रियसभा सदस्य निर्वाचन २०८१ अन्तर्गत माघ ११ गते भएको निर्वाचनबाट सातै प्रदेशबाट १८ जना सदस्य निर्वाचित भएका थिए।
निर्वाचन परिणामअनुसार कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित भएका छन्। मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर विजयी भएका छन्। त्यसैगरी बागमती प्रदेशबाट गीता देवकोटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा निर्वाचित भएका छन्।
यस्तै लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे, कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही निर्वाचित भएका छन्।
त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।

