बारामा रास्वपाको भारी मत, धेरै उम्मेदवारको जमानत जफत

spot_img

बारा,२५ फागुन । बारा जिल्लामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यधिक मत प्राप्त गरेको छ। जिल्लामा रहेको कुल ४ लाख ६४ हजार ७८४ मतदातामध्ये यसपटक ३ लाख १५ हजार ९६७ मत अर्थात् करिब ६७.८८ प्रतिशत मत खसेको थियो।

खसेको मतमध्ये समानुपातिकतर्फ रास्वपाले मात्र करिब १ लाख ७० हजार मत प्राप्त गर्दै करिब ५४ प्रतिशत मत आफ्नो पक्षमा पार्न सफल भएको छ। अन्य दलहरू भने धेरै पछाडि देखिएका छन्। नेकपा (एमाले) ले २६ हजार ४४३ मत प्राप्त गर्दा नेपाली कांग्रेसले करिब ३९ हजार मत ल्याएको छ। त्यसैगरी जसपा नेपालले २६ हजार १९ मत प्राप्त गर्दै चौथो स्थानमा पुगेको छ भने नेकपाले करिब ४ हजार मत मात्रै पाएको छ।

प्रत्यक्षतर्फ पनि रास्वपाको प्रभाव देखिएको छ। बाराका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले अत्यधिक मतान्तरले जित हासिल गरेका छन्।

यस निर्वाचनको अर्को रोचक पक्ष भने धेरै उम्मेदवारको जमानत जफत हुनु हो। बाराका चार निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका कुल ११० उम्मेदवारमध्ये ९९ जनाले जमानत जोगाउन सकेनन्। कानुनी व्यवस्थाअनुसार सदर मतको कम्तीमा १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ।

जमानत जफत हुने उम्मेदवारमा एमाले, कांग्रेस, नेकपा, जसपा नेपाल, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक, श्रम संस्कृति, उज्यालो नेपाल पार्टी तथा परिवर्तन नेपाल लगायतका दलका उम्मेदवारसमेत रहेका छन्। मधेस केन्द्रित तथा ठूला दलका उम्मेदवारले समेत आवश्यक मत ल्याउन नसकेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार बारा–१ मा २० उम्मेदवारमध्ये १७ जनाको जमानत जफत भएको छ। बारा–२ मा २९ उम्मेदवारमध्ये २६ जनाले जमानत जोगाउन सकेनन्। त्यस्तै बारा–३ मा २४ उम्मेदवारमध्ये २२ जनाको जमानत जफत भएको छ भने बारा–४ मा ३७ उम्मेदवारमध्ये ३४ जनाले जमानत गुमाएका छन्।

जिल्ला निर्वाचन अधिकृत नविन चौधरीका अनुसार यसपटकको निर्वाचन परिणामले बारामा नयाँ राजनीतिक प्रवृत्ति देखिएको संकेत गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय