बारामा तीन प्रहरी जवानमाथि सर्वसाधारणलाई फोनबाट धम्की दिएको आरोप

spot_img

बीरगन्ज,२५ फागुन । बारामा कार्यरत तीन जना प्रहरी जवानमाथि सर्वसाधारणलाई फोनमार्फत धम्की दिएको आरोप लागेपछि विवाद उत्पन्न भएको छ। घटनापछि स्थानीय स्तरमा प्रहरीको आचरणप्रति प्रश्न उठ्न थालेका छन्।

आरोप लाग्नेमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सुजित यादव, आशिष यादव र मोहन यादव रहेका छन्। उनीहरूले आफूहरू प्रहरी निरीक्षक (इन्सपेक्टर) का बडिगार्ड भएको भन्दै सर्वसाधारणलाई धम्क्याउने, धाक देखाउने र दबाब दिने गरेको आरोप सार्वजनिक भएको हो।

पीडित पक्षका अनुसार फागुन २० गते राति ती तीनै जना प्रहरीले एक व्यक्तिलाई फोन गरी अपमानजनक भाषा प्रयोग गर्दै धम्की दिएका थिए। आफूहरू प्रभावशाली प्रहरी अधिकारीका बडिगार्ड भएको भन्दै डर देखाएर चुप लाग्न दबाब दिएको समेत पीडितले बताएका छन्।

स्थानीय स्रोतका अनुसार ती प्रहरी जवानहरूले मुद्दा मिलाइदिने नाममा आर्थिक लेनदेन गर्ने, तस्करीमा संलग्न व्यक्तिहरूसँग सम्बन्ध राख्ने तथा सर्वसाधारणमाथि दबाब दिने गतिविधि गर्दै आएको चर्चा लामो समयदेखि चल्दै आएको बताइन्छ। तर प्रहरी संगठनसँग सम्बन्धित विषय भएकाले धेरै पीडित खुला रूपमा बोल्न नसकेको स्थानीयको भनाइ छ।

उनीहरूले आफ्नो पद र सम्बन्धको दुरुपयोग गर्दै “हामी इन्सपेक्टरका बडिगार्ड हौं, जे पनि गर्न सक्छौं” भन्ने शैलीमा व्यवहार गर्ने गरेको गुनासो समेत आएको छ। यस्तो गतिविधिले प्रहरीप्रति सर्वसाधारणको विश्वास कमजोर हुने चिन्ता व्यक्त गरिएको छ। यस विषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख तथा प्रहरी उपरीक्षक नरेन्द्र कुवरले घटनाबारे जानकारी आएको र सत्यतथ्य छानबिन गरी दोषी देखिए कडा विभागीय कारबाही गरिने बताएका छन्।

उनले प्रहरी संगठनभित्र अनुशासनहीनता सह्य नहुने स्पष्ट पार्दै कसैले प्रहरीको पद वा नामको दुरुपयोग गरी सर्वसाधारणलाई धम्की दिएको प्रमाणित भए कडा कारबाही हुने बताए। घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कारबाहीको मागसहित निवेदनसमेत परेको जनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय