पर्सा,२५ फागुन । पर्सामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ भेडियाही निवासी ५० वर्षीय भुटन साह उर्फ रामजनम साह रहेका छन्।
प्रहरीका अनुसार साहले किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि उनलाई खोजी गर्ने अभियान सुरु गरिएको थियो। त्यस क्रममा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार राति उनलाई नियन्त्रणमा लिन सफल भएको हो।
हाल पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पीडित किशोरीको स्वास्थ्य परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ।

