काठमाडौँ,२६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाको लागी भर्ना गरिएका निर्वाचन प्रहरीहरूले आफ्नो कार्यअवधि पूरा गरेका छन् । ४० दिनसम्म निर्वाचनको सुरक्षामा परिचालन गर्नेगरी नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्रले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो ।
फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मतगणना पनि सार्वजनिक भैसकेको अवस्थामा निर्वाचन प्रहरीलाई बिदाइ गर्ने तयारी गरिएको छ । उनीहरूलाई ‘धन्यवाद पत्र’ सहित बिदाइ गरिने नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अवि नारायण काफ्लेले रातोपाटीलाई बताए । प्रहरीले फागुन २८ मा देशभर निर्वाचन प्रहरीलाई बिदाइ गर्दै छ । काफ्लेले भने, ‘फागुन २८ गते बिहीबार देशभर उनीहरूलाई बिदाइ गरिँदै छ ।’
सशस्त्र प्रहरी बलले पनि फागुन २८ मा निर्वाचन प्रहरीलाई बिदाइ गर्ने भएको छ । सशस्त्रले निर्वाचन सुरक्षामा १५ हजार ११० जना निर्वाचन प्रहरीलाई परिचालन गरेको थियो । सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) विष्णु प्रसाद भट्टले निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई आउने बिहीबार बिदाइ गरिने जानकारी दिए ।
निर्वाचन प्रहरीलाई ४० दिन निर्वाचन सुरक्षामा खटिएबापत सरकारले ३४ हजार ७७६ रुपैयाँ तलब प्रदान गरेको छ । त्यसबाहेक उनीहरूले रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च पाएका छन् । निर्वाचन प्रहरीले ४ दिनको लागी दैनिक ३ सयको दरले खाजा खर्च पाउनेछन् । पोसाक बापत छुट्टै रकम उपलब्ध गराइएको प्रहरी प्रवक्ता (डीआईजी) काफ्ले बताए । उनले भने, ‘निर्वाचन प्रहरीलाई किस्ता–किस्तामा रकम दिइएको छ ।’ धेरैले सेवा सुविधा पाइसकेको र केही सेवा सुविधा लिने प्रक्रियामा छन् ।
निर्वाचनमा दुई वटा सङ्गठनले कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरेका छन् । उनीहरूको लागि सेवा सुविधामा करिब ७ अर्ब ८३ करोड खर्च भएको सुरक्षा अधिकृतहरु बताउँछन् । नेपाल प्रहरीले मात्रै निर्वाचन प्रहरीको लागी ७ अर्ब १३ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ । सशस्त्रले करिब ७० करोड खर्च गरेको छ ।
निर्वाचनको ड्युटीमा खटिँदा ११ जना निर्वाचन प्रहरी र दुर्घटनामा परेर एक जना नेपाल प्रहरीका असईले ज्यान गुमाए । ड्युटीमा मृत्यु भएका निर्वाचन प्रहरीका परिवारलाई सरकारले बिमा बापत २० लाख उपलब्ध गराउने छ । डीआईजी काफ्ले भन्छन्, ‘ड्युटीको क्रममा मृत्यु भएमा मृतकका आश्रित परिवारले बिमा बापतको रकम पाउँछन् ।’

