रौतहट,२६ फागुन । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा सामूहिक आक्रमण भएको छ । आक्रमणबाट दुई महिलासहित ६ जना घाइते भएका छन् ।
घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुको सट्टा प्रहरीले उल्टै पीडितमाथि नै अन्याय गरेको आरोप लगाइएको छ । इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र यादवको कार्यशैलीप्रति स्थानीयले प्रश्न उठाएका छन् । उनीमाथि जातीय प्रभावमा परेर पटक–पटक प्रहरी आचरणविपरीत काम गरेको आरोपसमेत लागेको छ ।
घटना यही फागुन १९ गते, होली पर्वको पूर्वसन्ध्या तथा प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि भएको बताइएको छ । घटनाको एक सातासम्म पनि प्रहरीले कुनै कारवाही नगरेपछि पीडितपक्षले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा पीडित बिर्जा राम चमारले सामान्य विवादको क्रममा स्थानीय भुनेश्वर यादव, पसिन्द्र यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नवीनकुमार यादव र जयप्रकाश यादवलगायतको समूह लाठी–भाटा लिएर फागुन १९ गते साँझ करिब ६ बजे घरभित्र पसेर कुटपिट गरेको आरोप लगाएका छन् ।उनका अनुसार सो समूहले घरभित्र प्रवेश गरेर श्रीमती, छोरीसहित ६ जनालाई मरणासन्न हुने गरी कुटपिट गर्नुका साथै घरका सामान तोडफोड गरेका थिए । साथै घरमा रहेका दुईवटा मोबाइलसमेत फोडिएको उनले बताएका छन् ।
कुटपिटबाट ५५ वर्षीय बिर्जा राम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उनकी श्रीमती ५० वर्षीया गायत्री देवी रामको शरीरभरि निलडाम छ ।त्यस्तै उनका छोरा राजकुमार रामको टाउकोमा तीनवटा टाका लागेको छ भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउकोमा ७ टाँक लगइएको छ । ललन राम चमारको अनुहार र शरीरभरि निलडाम देखिएको छ भने नरेश राम चमारको टाउको र आँखामा चोट लागेको तथा शरीरका विभिन्न भागमा घाउ–चोट देखिएको पीडितपक्षले जनाएको छ।पीडितका अनुसार फागुन १९ गते साँझ करिब ५ बजे दुईपक्षबीच सामान्य भनाभन भएको थियो । सो क्रममा बिर्जा रामका छोरा राजकुमार रामलाई घरभन्दा केही पर कुटपिट गरेका थिए । त्यसक्रममा प्रतिवाद गर्दा यादवपक्षका एक जनाको टाउकोमा चोट लागेको बताइएको छ ।
यसको करिब एक घण्टापछि बेलुकी ६ बजे लाठी–भाटा लिएर घरमै प्रवेश गरी सामूहिक आक्रमण गरेको पीडित बिर्जा राम चमारले बताएका छन् ।उनका अनुसार घटनापछि इलाका प्रहरी कार्यालय सन्तपुरबाट आएको प्रहरी टोलीले कुटपिट गर्नेहरूलाई पक्राउ गर्नुको सट्टा आफू र आफ्नो छोरालाई नै पक्राउ गरी हतकडी लगाएर लगेको थियो । उनीहरूलाई थुनामा राखेर कुटपिटसमेत गर्दै इलाका प्रहरी कार्यालय विजयपुर पठाइएको आरोप छ ।स्थानीय समाजसेवी तथा फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्यक्षदर्शी विजय यादवका अनुसार कुटपिट गर्नेहरूलाई पक्राउ गर्नुको सट्टा पीडितलाई नै पक्राउ गरेपछि उनले प्रहरी निरीक्षक सुरेन्द्र यादवलाई फोन गरेर छोड्न आग्रह गरेका थिए ।
तर उहाँले कुरा नसुनेपछि मैले रौतहटका प्रहरी प्रमुख (एसपी) लाई फोन गरेँ, त्यसपछि मात्रै बिर्जा राम र उनका छोरालाई थुनामुक्त गरिएको हो, उनले भने । पीडितका अनुसार घटनाको एक सातासम्म पनि जाहेरी दर्ता गरिएको छैन । आइतबार र सोमबार इलाका प्रहरी कार्यालय विजयपुरमा गएर जाहेरी दर्ताको आग्रह गर्दा प्रहरी निरीक्षक यादवले वास्ता नगरेको र उल्टै थर्काउने गरेको आरोप छ ।
यता प्रहरी निरीक्षक सुरेन्द्र यादवले भने विपक्षीपक्षका एक जनाको टाउको फुटेको र निर्वाचनको संवेदनशीलता भएकाले उनीहरूलाई पक्राउ गरिएको बताएका छन् । पछि बिर्जा रामको परिवारका सदस्यहरू पनि घाइते भएको जानकारी पाएपछि सोही रात जिम्मा–जमानिमा बाबु–छोरालाई छाडिएको उनले बताए ।
निर्वाचनका कारण कारवाही प्रक्रियामा केही ढिलाइ भएको स्वीकार गर्दै उनले घटनाबारे छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएको बताए ।

