बीरगन्ज,११ फागुन । पर्सा क्षेत्र नम्बर–४ का नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले सोमबार ठोरी गाउँपालिका वडा नम्बर–४ मा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो शक्ति प्रदर्शन गरेका छन्।
उम्मेदवार रिजालले विजयबस्ती, निर्मलबस्ती, मालीटोल र शिकारीबास क्षेत्रका बासिन्दासँग भेटेर उनीहरूको समस्या, आवश्यकताका विषय र सुझाव सुने। स्थानीयले विकास निर्माण, सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवासम्बन्धी समस्या उठाउँदै समाधानको लागि पहल गर्न आग्रह गरेका थिए।
रिजालले जनताको मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै विगतदेखि नै जनतासँग नजिक रहँदै काम गर्दै आएको स्मरण गराए। उनले आगामी दिनमा पनि जनताको सेवामा समर्पित रहिरहने स्पष्ट पारे।

