जनकपुर,२६ फागुन । माछा मार्न गएका एक युवकको मङ्गलवार पोखरीमा डुबेर मृत्यु भएको छ । राजविराज नगरपालिका वडा नम्बर ३ मा रहेको कल्टु दास पोखरीमा डुबेर सोही नगरपालिका वडा नम्बर ४ निवासी २५ वर्षीय(बौवा) भनिने गजेन्द्र दासको मृत्यु भएको हो ।
मङ्गलवार बिहान ७ बजे माछा मार्न पोखरीमा पस्नुभएका दासको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । स्थानीय सन्तोष थापाका अनुसार दुई पटक माछा मारेर बाहिर निस्कनुभएका दास तेस्रो पटक पुनः पोखरीमा पस्दा डुब्नुभएको थियो ।
पोखरीमा युवक डुबेको खबर पाएलगत्तै पुगेको नेपाली सेनाको बरख गण, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गोताखोर टोलीले करिब चार घण्टाको प्रयासपछि शव बाहिर निकालेको थियो । राजविराजस्थित बरख गणका गणपति प्रमुख सेनानी सोभितबहादुर चन्दले सुरक्षाकर्मीको टोलीले मृत अवस्थामा शव फेला पारेको बताउनुभयो ।
मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

